काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले आगामी मौद्रिक नीतिले बजेटमा सम्बोधन हुन नसकेका निजी क्षेत्रका प्रमुख माग र समस्यालाई समेट्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको अर्थ समितिको आइतबार बसेको बैठकमा धारणा राख्दै अध्यक्ष श्रेष्ठले बजेटबाट अपेक्षित सम्बोधन हुन नसकेका विषयमा निजी क्षेत्रको आशा अब मौद्रिक नीतिमाथि केन्द्रित रहेको बताए।

उनले विगतमा पनि मौद्रिक नीतिमार्फत निजी क्षेत्रलाई केही राहत प्रदान गरिएको उल्लेख गर्दै यसपटक पनि व्यवसायिक वातावरण सुधार गर्न प्रभावकारी व्यवस्था आउने विश्वास व्यक्त गरे।

अध्यक्ष श्रेष्ठले कर्जा असुलीको सन्दर्भमा सबै उद्योग–व्यवसायलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने धारणा राखे। जानाजान ऋण नतिर्ने र आर्थिक मन्दी वा अन्य परिस्थितिका कारण ऋण तिर्न नसकेका व्यवसायीलाई छुट्टाछुट्टै रूपमा वर्गीकरण गरी फरक नीति अपनाउनुपर्ने उनको सुझाव थियो।

उनका अनुसार मुलुकमा लगानीका लागि पर्याप्त स्रोत उपलब्ध भए पनि बजारमा माग कमजोर रहेकाले उत्पादन र आर्थिक गतिविधि विस्तार हुन सकेको छैन। त्यसैले उपभोग र माग बढाउने नीति आवश्यक रहेको उनले बताए।

श्रेष्ठले बैंक तथा वित्तीय संस्थाको स्वामित्वमा जफत भएका सम्पत्तिको संख्या बढ्दै जानु र निष्क्रिय कर्जा (एनपीए) उच्च हुँदै जानु वित्तीय क्षेत्रका लागि चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै यस्ता सम्पत्तिको प्रभावकारी व्यवस्थापनमा सरकार र नियामक निकायले विशेष ध्यान दिनुपर्ने बताए।

व्यवसायको प्रकृतिअनुसार समस्या फरक–फरक हुने भएकाले समाधानका लागि बैंक तथा निजी क्षेत्रबीच नियमित संवाद र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। साथै, वित्तीय क्षेत्रको संरचनागत सुधारलाई पनि सरकारले प्राथमिकतामा राख्नुपर्ने उनले औँल्याए।

रोजगारी सिर्जनामा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको बताउँदै अध्यक्ष श्रेष्ठले नेपालमा करिब ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले उपलब्ध गराइरहेको दाबी गरे। राज्यको भूमिका तुलनात्मक रूपमा कमजोर रहेकाले सरकारले निजी क्षेत्रलाई थप प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नुपर्ने उनको आग्रह थियो।

उनले अत्यधिक आयातमा निर्भर अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्दै नेपालले उपभोगका वस्तुको ठूलो हिस्सा विदेशबाट आयात गर्नुपर्ने अवस्था अन्त्य गर्न स्वदेशी उत्पादन वृद्धि गर्ने नीति र कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com