काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले विधि र कानुनी प्रक्रियाभन्दा तत्काल परिणाम देखाउने प्रवृत्तिलाई प्राथमिकता दिएको आरोप लगाएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार सुरु भएको सरकारको पहिलो १०० दिनको समीक्षात्मक कार्यक्रममा बोल्दै थापाले वर्तमान सरकारको कार्यशैली २०७४ सालको निर्वाचनपछि गठन भएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारसँग मिल्दोजुल्दो रहेको टिप्पणी गरे।
उनले कानुनी प्रक्रिया र संस्थागत प्रणालीलाई कमजोर पारेर परिणाममुखी देखिने प्रयास दीर्घकालीन रूपमा लोकतान्त्रिक शासन प्रणालीका लागि उपयुक्त नहुने धारणा राखे।
भूमिहीन तथा सुकुमबासी बस्ती व्यवस्थापनको विषयलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै थापाले कानुन निर्माण र व्यवस्थित नीतिमार्फत समस्या समाधान गर्न सकिने अवस्था हुँदाहुँदै तत्काल लोकप्रियता हासिल गर्ने उद्देश्यले डोजर चलाइएको आरोप लगाए।
‘भूमिहीनहरूको समस्या कानुनी व्यवस्थामार्फत समाधान गर्न सकिन्थ्यो। तर सामाजिक सञ्जालमा तत्काल चर्चा र समर्थन बटुल्ने उद्देश्यले पहिला बस्ती हटाउने काम गरियो,’ उनले भने।
सभापति गगन थापाले सरकार नागरिकको जीवनस्तर सुधारभन्दा सामाजिक सञ्जालमा लोकप्रियता हासिल गर्न बढी केन्द्रित भएको आरोप पनि लगाए। उनका अनुसार दीर्घकालीन समाधानभन्दा तत्काल देखिने निर्णयलाई प्राथमिकता दिँदा वास्तविक समस्या समाधान हुन सकेको छैन।
यद्यपि, उनले प्रधानमन्त्री शाहले शासन सञ्चालनमा बालुवाटारभन्दा सिंहदरबारलाई सक्रिय बनाउने प्रयास गरेको पक्षको भने प्रशंसा गरे। प्रधानमन्त्री कार्यालयको सट्टा मन्त्रालय र सरकारी संयन्त्रलाई बढी सक्रिय बनाउने अभ्यास सकारात्मक रहेको उनको भनाइ थियो।
प्रकाशित मिति: २१ असार २०८३, आइतबार












प्रतिक्रिया