काठमाडौं । ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। फिफा विश्वकप २०२६ को अन्तिम १६ मा नर्वेसँग २–१ को हार बेहोर्दै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि उनले राष्ट्रिय टोलीसँगको १६ वर्ष लामो यात्राको अन्त्य गरेका हुन्।

३४ वर्षीय नेयमारले खेलपछि भावुक हुँदै अब ब्राजिलका लागि आफ्नो अध्याय समाप्त भएको बताएका छन्। न्यु जर्सीमा सम्पन्न खेलमा नर्वेका एर्लिङ हालान्डले दुई गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए। इन्जुरी समयमा नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि ब्राजिललाई हारबाट जोगाउन त्यो पर्याप्त हुन सकेन।

विश्वकपअघि चोटका कारण सुरुआती खेल गुमाएका नेयमारले प्रशिक्षक कार्लो एन्सेलोटीको योजनाअनुसार क्रमिक रूपमा टोलीमा पुनरागमन गरेका थिए। पूर्ण रूपमा फिट भएपछि पनि उनी अधिकांश खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान उत्रिएका थिए। स्कटल्यान्ड र नर्वेविरुद्ध उनी बेन्चबाट मैदान प्रवेश गरेका थिए।

ब्राजिलका लागि उनको अन्तिम अन्तर्राष्ट्रिय गोल नर्वेविरुद्ध इन्जुरी समयमा पेनाल्टीमार्फत आयो। तर पाँच पटकको विश्वविजेता टोलीको विश्वकप यात्रा अन्तिम १६ मै टुंगियो।

सन् २०१० मा सिनियर टोलीबाट डेब्यु गरेका नेयमारले ब्राजिलका लागि १२९ अन्तर्राष्ट्रिय खेलमा ८० गोल गर्दै पुरुष फुटबलतर्फ देशका सर्वाधिक गोलकर्ता बने। उनले चार संस्करणको फिफा विश्वकप खेले र एक दशकभन्दा बढी समय ब्राजिलको आक्रमणको नेतृत्व गरे। यद्यपि विश्वकप उपाधि जित्ने उनको सपना भने अधुरै रह्यो।

नेयमारले सन् २०१३ मा फिफा कन्फेडेरेसन कप जितेका थिए भने कप्तानका रूपमा सन् २०१६ को रियो ओलम्पिकमा ब्राजिललाई पहिलो पटक स्वर्ण पदक दिलाएका थिए। उनले सन् २०१२ को लन्डन ओलम्पिकमा रजत पदक पनि जितेका थिए।

बारम्बारको चोटले उनको अन्तर्राष्ट्रिय करियरमा ठूलो असर पारे पनि उनी लामो समयसम्म ब्राजिलका लागि आशा र भरोसाको केन्द्र बने। उत्कृष्ट प्रदर्शन, सिर्जनात्मक खेल र गोल गर्ने क्षमताका कारण उनी ब्राजिलका सर्वकालीन महान फुटबलरमध्ये एकका रूपमा स्थापित भएका छन्।

अन्तिम सिटी बज्नेबित्तिकै नेयमार केहीबेर मैदानमै निश्चल उभिएका थिए। त्यसपछि उनी भावुक बनेका थिए र टोलीका खेलाडीहरूले अँगालो हालेर सान्त्वना दिएका थिए। यससँगै प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा ब्राजिलको विश्वकप यात्रा पनि समाप्त भएको छ।

प्रकाशित मिति: २२ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com