काठमाडौं । पूर्वाधारमन्त्री सुनील लम्सालले जनताको काममा बेवास्ता गर्ने जनप्रतिनिधि र पदाधिकारीमाथि कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएका छन्।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५, दुलेगौँडामा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै लम्सालले जनताको सेवा प्रभावकारी रूपमा नगर्ने स्थानीय तहका प्रमुखदेखि प्रदेश सरकारका मन्त्रीसम्म कसैलाई पनि उन्मुक्ति नदिइने बताए।
उनले कुनै मेयर वा जनप्रतिनिधिले नागरिकका काममा बेवास्ता गरेको, सेवाग्राहीलाई दुःख दिएको वा आफ्नो जिम्मेवारी पूरा नगरेको जानकारी पाए सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गरे। त्यस्ता व्यक्तिमाथि कानुनी प्रक्रिया अनुसार आवश्यक कारबाही अघि बढाइने उनको भनाइ थियो।
‘यदि कुनै मेयरले जनताको काम गर्नुभएन, नागरिकलाई अपमानित गर्नुभयो वा जिम्मेवारीबाट पन्छिनुभयो भने हामीलाई जानकारी दिनुहोस्। प्रदेशका मन्त्रीले पनि त्यस्तै गरे कानुनअनुसार कारबाही हुन्छ,’ उनले भने।
लम्साल यसअघि पनि काममा लापरबाही गर्ने ठेकेदारमाथि ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति दिएपछि विवादमा परेका थिए। यसपटक उनले पुनः कडा अभिव्यक्ति दिँदै गैरजिम्मेवार जनप्रतिनिधि र पदाधिकारीलाई कानुनी दायरामा ल्याइने बताएका छन्।
उनले जनप्रतिनिधि र सार्वजनिक पदमा रहेका सबै व्यक्तिले जनताको विश्वासअनुसार इमानदार र जिम्मेवार ढंगले काम गर्नुपर्नेमा जोड दिँदै सेवा प्रवाहमा कुनै प्रकारको लापरबाही स्वीकार्य नहुने बताए।
प्रकाशित मिति: २२ असार २०८३, सोमबार












प्रतिक्रिया