काठमाडौं । महिला उद्यमशीलता, नेतृत्व र सामाजिक योगदानलाई सम्मान गर्ने उद्देश्यले आयोजित ‘म उद्यमी’ सिजन–४ अन्तर्गत ‘वुमन इन्टरप्रेनरशिप अवार्ड २०८३’ काठमाडौंमा सम्पन्न भएको छ।
नारी टिभीको आयोजनामा तथा जीकेएमसीको व्यवस्थापनमा आयोजित कार्यक्रममा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्। कार्यक्रममा विभिन्न क्षेत्रका महिला उद्यमी, सामाजिक अभियन्ता, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा उद्यमशीलता, सामाजिक नेतृत्व तथा नवप्रवर्तनमार्फत समाजमा उल्लेखनीय योगदान पुर्याएका महिलाहरूलाई ‘इमर्जिङ इन्टरप्रेनरशिप अवार्ड’, ‘वुमन इन्टरप्रेनरशिप अवार्ड’ र ‘सोसल इन्टरप्रेनरशिप अवार्ड २०८३’ प्रदान गरिएको थियो।
यस वर्ष सम्मानित हुनेहरूमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, सांसद बसुमाया तामाङ, आकृति राजभण्डारी, सीता न्यौपाने, योजना थापा मगर, दीक्षा चापागाईं, नन्दा पसाई, जुली प्रधानाङ्ग, पूनम कार्की, रेखा शर्मा, श्वेता खड्का तथा श्वेता प्रधान रहेकी थिइन्। सम्मानित व्यक्तित्वहरूले आफ्ना अनुभव सुनाउँदै महिला सशक्तीकरण, आत्मनिर्भरता, नवप्रवर्तन र उद्यमशीलताको महत्वबारे धारणा राखेका थिए।
प्रमुख अतिथि मन्त्री गीता चौधरीले महिलाको आर्थिक सशक्तीकरणका लागि उद्यमशीलता प्रभावकारी माध्यम भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले नयाँ पुस्ताका महिला उद्यमीलाई प्रेरणा दिने बताइन्। महिला उद्यमीलाई आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्न आफ्नो मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ थियो।
उनले महिलालाई अवसरको खोजीमा मात्र नभई अवसर सिर्जना गर्ने भूमिकामा अघि बढ्न आग्रह गर्दै नारी टिभीले सञ्चालन गरिरहेको अभियानको प्रशंसा गरिन्।
कार्यक्रमका आयोजक तथा नारी टिभीकी संस्थापक निकिता पौडेल लामिछानेले महिला नेतृत्व, उद्यमशीलता र आर्थिक सशक्तीकरणलाई प्रवर्द्धन गर्ने अभियानलाई निरन्तर अघि बढाइने बताइन्।
आयोजकका अनुसार ‘म उद्यमी’ कार्यक्रमले नेपाली महिलालाई उद्यमशीलता, नेतृत्व, नवप्रवर्तन र सामाजिक उत्तरदायित्वका क्षेत्रमा प्रेरित गर्दै उनीहरूको योगदानलाई राष्ट्रिय स्तरमा सम्मान गर्ने उद्देश्य बोकेको छ।
प्रकाशित मिति: २२ असार २०८३, सोमबार













प्रतिक्रिया