पाँचथर । प्रधानमन्त्री बालेन (वालेन्द्र) शाह तथा अन्य राजनीतिक नेतृत्वविरुद्ध सामाजिक सञ्जालमार्फत अपमानजनक र गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोप लागेका पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ डोबाटेका रोशन पोखरेललाई जिल्ला अदालत पाँचथरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

पोखरेलविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता भएपछि न्यायाधीश कुमार मास्केको इजलासले अनुसन्धान तथा मुद्दाको सुनुवाइ टुंगो नलाग्दासम्म थुनामा राख्न आदेश दिएको हो। जिल्ला अदालत पाँचथरका श्रेस्तेदार राजकुमार निरौलाले पनि उक्त आदेश भएको पुष्टि गरेका छन्।

प्रहरीले पोखरेललाई २०८२ चैत २६ गते पक्राउ गरेको थियो। सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको विषयमा भएको पक्राउको घटनापछि देशभर विरोध चर्किएको थियो। त्यसपछि प्रहरीले चैत २९ गते उनलाई परिवारको जिम्मा लगाएको थियो।

यद्यपि, प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेपछि अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश जारी गरेको हो।

अभियोगपत्रअनुसार पोखरेलले युट्युब, फेसबुक, इन्स्टाग्राम र टिकटकमार्फत प्रधानमन्त्री बालेन शाह तथा उनको परिवारलाई लक्षित गर्दै मान–प्रतिष्ठामा आँच पुग्ने गरी अपमानजनक, अमर्यादित र गालीगलौजयुक्त भिडियो, स्टाटस तथा अन्य सामग्री प्रसारण गरेका थिए। सोही आरोपमा उनीविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कानुनी कारबाही अघि बढाइएको छ।

प्रकाशित मिति: २३ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com