काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा जिल्ला अदालत काठमाडौंमा भइरहेको सुनुवाइ सम्पन्न भएको छ। सुनुवाइ सकिएसँगै अदालतले आजै फैसला सुनाउने तयारी गरेको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासमा गत जेठ २७ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको उक्त मुद्दा मंगलबार सकिएको हो। लामो समयदेखि स्थगित हुँदै आएको यो प्रकरणलाई अदालतले जेठ २७ देखि प्राथमिकताका साथ सुनुवाइ अघि बढाएको थियो।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लगायत तेस्रो मुलुक पठाइदिने प्रलोभन देखाएर करोडौं रुपैयाँ ठगी गरिएको आरोपमा यो मुद्दा दायर भएको हो।
यस प्रकरणमा २०८० जेठ १० गते पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध तथा राज्यविरुद्धको कसुरमा जिल्ला अदालत काठमाडौंमा अभियोग दर्ता गरिएको थियो।
अभियोगपत्रमा संगठित गिरोहले नक्कली कागजात तयार गरी नेपाली नागरिकलाई भुटानी शरणार्थीका रूपमा देखाउँदै विदेश पठाउने योजनामार्फत ठूलो रकम असुलेको आरोप लगाइएको छ।
यस मुद्दामा मुख्य बिचौलियाका रूपमा चिनिएका केशव दुलाल, दीपा हुमागाईं, सानु भण्डारी, सन्देश शर्मा लगायत अन्य आरोपितविरुद्ध पनि सोही कसुरमा मुद्दा विचाराधीन छ। अब अदालतको फैसला सार्वजनिक भएपछि यो बहुचर्चित प्रकरणले कानुनी रूपमा महत्वपूर्ण मोड लिने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २३ असार २०८३, मंगलबार












प्रतिक्रिया