काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुख डोलप्रसाद अर्याललाई लक्षित गर्दै गरेको टिप्पणीपछि सदनमा केहीबेर विवाद भएको छ।
बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाएपछि सभामुख अर्यालले आफ्नो धारणा राख्न पहिलो अवसर नेपाली कांग्रेसलाई दिएका थिए। त्यसपछि बोल्ने समय पाएका एमाले सांसद राईले सम्बोधनको सुरुमै, ‘सभामुखज्यू, तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न?’ भन्दै प्रश्न गरेका थिए।
राईको उक्त अभिव्यक्तिपछि सभामुख अर्यालले उनलाई तत्काल रोकेर मर्यादित भाषा प्रयोग गर्न निर्देशन दिए। उनले, ‘माननीय सदस्य, आफ्नो भनाइ मर्यादाभित्र रहेर राख्नुस्,’ भन्दै चेतावनी दिएका थिए।
राईले आफ्नो अभिव्यक्ति जारी राख्न खोजेपछि सभामुखले उनलाई सभामुखको अपमानजनक व्यवहार नगर्न सचेत गराउँदै, ‘सभामुखको अपहेलना गर्दै हुनुहुन्छ,’ भनेका थिए।
त्यसपछि सभामुख अर्यालले राईलाई बोल्न नदिई अर्को वक्ताका रूपमा एमालेकै सांसद परशुराम तामाङलाई बोल्ने समय दिएका थिए।
प्रकाशित मिति: २४ असार २०८३, बुधबार












प्रतिक्रिया