काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राई र सभामुख डीपी अर्यालबीच चर्को विवाद भएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
बुधबार सिंहदरबारस्थित संसद् भवनमा बैठक सुरु हुनासाथ नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका विपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाएका थिए।
विपक्षीको अवरोधबीच सभामुख अर्यालले सुरुमा नेपाली कांग्रेसकी सांसद प्रमिला कुमारी गच्छदार र त्यसपछि एमाले सांसद राजेन्द्र राईलाई बोल्ने समय दिएका थिए। तर, आफ्नो धारणा राख्ने क्रममा राईले ‘सभामुखज्यू, तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ?’ भन्दै प्रश्न गरेपछि सदनको माहोल तनावपूर्ण बनेको थियो।
राईको अभिव्यक्तिप्रति तत्काल प्रतिक्रिया दिँदै सभामुख अर्यालले त्यसलाई संसदीय मर्यादाविपरीत भएको उल्लेख गर्दै मर्यादित भाषा प्रयोग गर्न निर्देशन दिए। उनले ‘सभामुखको अपहेलना गर्दै हुनुहुन्छ’ भन्दै राईलाई बोल्न रोकेर अर्को वक्तालाई समय दिएका थिए।
यसबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टीका सङ्ग्रौलाले नियमापत्ति जनाउँदै राईले प्रयोग गरेका शब्द संसद्को अभिलेखबाट हटाउन माग गरेकी थिइन्।
पछि सभामुख अर्यालले राईलाई पुनः बोल्ने अवसर दिएका थिए। तर, बोल्ने क्रममा पुनः विवाद उत्पन्न भएपछि सभामुखले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।
प्रकाशित मिति: २४ असार २०८३, बुधबार











प्रतिक्रिया