काठमाडौं । नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले सरकारमाथि अभिव्यक्ति स्वतन्त्रतामा दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन्। उनले प्रधानमन्त्रीको आलोचना गर्ने व्यक्तिमाथि कारबाही हुने तर सार्वजनिक रूपमा धम्की दिने मन्त्री र सांसदमाथि कुनै कदम नचालिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा एक युवालाई हिरासतमा राखिएको प्रसंग उल्लेख गर्दै प्रश्न गरे, ‘प्रधानमन्त्रीलाई गाली गर्दा थुनिन्छ, तर निर्माण व्यवसायीको खुट्टा भाँचिदिन्छु भन्ने मन्त्री र प्रहरीलाई सडकमा घिसार्छु भन्ने सांसदमाथि किन कारबाही हुँदैन ? ठुलालाई चैन, सानालाई ऐन कहिलेसम्म ?’
उनले गल्ती गर्ने नागरिकलाई सुधार्ने अवसर दिनुपर्ने तर राज्यले प्रतिशोधको भावनाले कारबाही गर्न नहुने धारणा राखे। सरकारको पछिल्लो कार्यशैलीले लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रश्न उठेको उनको भनाइ थियो।
सांसद हर्कराज राईले कानुन र नियम सबै नागरिकका लागि समान रूपमा लागू हुनुपर्नेमा जोड दिँदै अहिले सरकार र संसद् दुवै दोहोरो मापदण्डतर्फ उन्मुख भएको टिप्पणी गरे। साथै, प्रधानमन्त्री बालेन्द्र शाहका पछिल्ला अभिव्यक्तिबारे संसद्मा आएर स्पष्ट पार्न सभामुखले रुलिङ गर्नुपर्ने माग पनि उनले गरे।
यसै क्रममा उनले सुर्खेत जिल्ला प्रशासन कार्यालय परिसरमा बुद्धको मूर्तिलाई साङ्लोले बाँधिएको घटनाप्रति पनि आपत्ति जनाए। ‘मानिसलाई थुनेको देखिएको थियो, तर शान्तिका प्रतीक बुद्धको मूर्तिलाई नै साङ्लोले बाँधिनु दुःखद् हो। यस्ता संवेदनशील विषयमा सरकारले गम्भीर चासो दिनुपर्छ,’ उनले भने।
प्रकाशित मिति: २४ असार २०८३, बुधबार












प्रतिक्रिया