काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक उद्योगी–व्यवसायीका प्रतिनिधिसँग प्रत्यक्ष छलफल गर्दै उनले सरकार निजी क्षेत्रलाई तर्साउने वा धरपकड गर्ने पक्षमा नरहेको स्पष्ट पारे।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित करिब दुई घण्टाको अनौपचारिक छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी सहभागी भएका थिए। प्रधानमन्त्री शाहले औपचारिक बैठकभन्दा खुला संवाद प्रभावकारी हुने भन्दै आफ्नै कार्यकक्षमा छलफल आयोजना गरेका थिए।

छलफलका क्रममा प्रधानमन्त्रीले निजी क्षेत्रका समस्या समाधानका लागि विज्ञसहितको विशेष समिति गठन गर्ने प्रस्ताव राख्दै त्यसमा महासंघ, परिसंघ र चेम्बरका प्रतिनिधिलाई पनि सहभागी गराइने जानकारी दिए। साथै, सार्वजनिक संस्थानलाई साझेदारीको मोडेलमा सञ्चालन गर्ने विषयमा सरकार सकारात्मक रहेको पनि उनले बताए।

प्रधानमन्त्रीले उद्योगी–व्यवसायीलाई आफ्ना समस्या र सुझाव खुलस्त रूपमा राख्न आग्रह गर्दै आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य आवश्यक रहेको उल्लेख गरे।

उद्योगी–व्यवसायीहरूले भने अनुसन्धानका नाममा व्यवसायीमाथि भइरहेको पक्राउ र धरपकडले लगानीकर्तामा भयको वातावरण सिर्जना भएको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनीहरूले यस्ता गतिविधिले निजी क्षेत्रको मनोबल कमजोर बनाएको बताएका थिए।

छलफलमा नेपाल राष्ट्र बैंकको कडा मौद्रिक नीतिका कारण लगानी विस्तार प्रभावित भएको विषय पनि उठाइएको थियो। नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले लगानीमैत्री वातावरण बनाउन जग्गाको हदबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गरी सरकारले द्रुत निर्णय गर्नुपर्ने सुझाव दिएका थिए।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, महानिर्देशक डा. घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रालगायत प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, प्रमुख स्वकीय सचिव सुवास शर्मा र निजी सचिव प्रदीप परियारको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २४ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com