काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएपछि पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापा केन्द्रीय कारागारबाट रिहा भएका छन्। जिल्ला अदालतको फैसलाअनुसार कारागार प्रशासनले थापालाई रिहा गरेको हो।
कारागारबाट रिहा भएलगत्तै प्रहरीले थापालाई भ्रष्टाचारसम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएको थियो। तर, सार्वजनिक पद धारण नगरेको आधारमा अख्तियारले उनलाई तारेखमा राखेर अनुसन्धान अघि बढाउने निर्णय गरेको स्रोतले जनाएको छ।
अख्तियारको प्रक्रिया पूरा भएपछि थापालाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि उपस्थित गराइने भएको छ।
भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभनमा ठगी गरेको आरोपमा दायर मुद्दामा जिल्ला अदालतले प्रतिक थापासहित सात जनालाई सफाइ दिएको छ। सफाइ पाउने अन्य व्यक्तिमा रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, लक्ष्मी महर्जन, केशव तुलाधार र आशिष बुढाथोकी रहेका छन्।
यो मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धानपछि २०८० जेठमा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा दायर गरिएको थियो। अभियोग दर्ता हुँदादेखि फरार रहेका सात जना प्रतिवादी फैसला हुँदासम्म पनि अदालतको सम्पर्कमा आएका थिएनन्।
प्रकाशित मिति: २४ असार २०८३, बुधबार













प्रतिक्रिया