काठमाडौं । सरकारले मन्त्रिपरिषद्को असार २४ गते बसेको बैठकका आठ महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। बैठकले प्रशासन, शिक्षा, स्वास्थ्य, सुशासन तथा मानव अधिकारसँग सम्बन्धित विभिन्न प्रस्ताव स्वीकृत गर्नुका साथै मुख्य सचिव नियुक्तिसहितका निर्णय गरेको हो।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ। साथै, काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्यलाई नियुक्त गरिएको छ।

स्वास्थ्यतर्फ कैलालीस्थित गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको छ।

शिक्षा क्षेत्र सुधारका लागि विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ तथा शैक्षिक परामर्श, भाषा शिक्षण र तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गरिएको छ।

बैठकले कारागार व्यवस्थापनलाई व्यवस्थित बनाउन कारागार नियमावली, २०८३ पनि पारित गरेको छ।

यस्तै, मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (२०८३/८४–२०८७/८८) र भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/८३–२०८७/८८) समेत मन्त्रिपरिषद्ले स्वीकृत गरेको सरकारका प्रवक्ता कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २४ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com