काठमाडौं । सरकारले गठन गरेको संविधान संशोधनसम्बन्धी बहसपत्र तयारी कार्यदलबाट नेकपा (एमाले) पनि औपचारिक रूपमा अलगिएको छ। सरकारसँग आफ्ना प्रस्तावबारे स्पष्ट धारणा नआएको भन्दै एमालेले कार्यदलमा सहभागी आफ्नो प्रतिनिधिलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

एमाले महासचिव शंकर पोखरेलले बिहीबार कार्यदललाई पत्र पठाउँदै पार्टीका तर्फबाट सहभागी संविधानविद् डा. भीष्म अधिकारीलाई कार्यदलबाट फिर्ता बोलाइएको जानकारी दिएका छन्।

एमालेले पठाएको पत्रमा संविधान संशोधनसम्बन्धी आफ्ना प्रस्तावबारे सरकारसँग पटक–पटक धारणा मागिए पनि हालसम्म कुनै स्पष्ट जवाफ प्राप्त नभएको उल्लेख गरिएको छ। यही कारण कार्यदलमा निरन्तर सहभागी रहने आधार समाप्त भएको निष्कर्षसहित प्रतिनिधि फिर्ता बोलाइएको जनाइएको छ।

कार्यदलमा एमालेको प्रतिनिधित्व गरिरहेका डा. अधिकारी प्रारम्भिक बैठकमा सहभागी भएका थिए। तर त्यसपछि बसेका बैठकहरूमा उनी उपस्थित भएका थिएनन्।

यसअघि नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तथा राष्ट्रिय जनमोर्चालगायतका दलले पनि असन्तुष्टि जनाउँदै कार्यदलबाट आफ्नो सहभागिता फिर्ता लिइसकेका छन्। एमालेको पछिल्लो निर्णयसँगै संविधान संशोधन बहसपत्र तयारीका लागि गठन गरिएको कार्यदल थप दबाबमा परेको छ।

प्रकाशित मिति: २५ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com