काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका दीर्घकालीन समस्या समाधान, पूर्वाधार विकासलाई गति दिने उपाय तथा लगानीमैत्री वातावरण निर्माणका विषयमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग उच्चस्तरीय छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्रलाई मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र भौतिक पूर्वाधार विस्तारको प्रमुख आधारका रूपमा उल्लेख गर्दै यस क्षेत्रका समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताए।

उनले निर्माण व्यवसायलाई थप पारदर्शी, उत्तरदायी, मर्यादित र परिणाममुखी बनाउँदै विकास आयोजनाहरू निर्धारित समयमै सम्पन्न गर्न सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेकोमा जोड दिए।

भेटका क्रममा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीहरूले निर्माण उद्योगले भोगिरहेका भुक्तानीमा ढिलाइ, ठेक्का व्यवस्थापन, म्याद थप, आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ पहुँच तथा लगानीसम्बन्धी समस्या प्रधानमन्त्रीसमक्ष राखेका थिए।

उनीहरूले निर्माण क्षेत्रलाई पुनः चलायमान बनाउन नीतिगत सुधार, समयमै भुक्तानी र सरकार–निजी क्षेत्रबीच नियमित संवाद तथा सहकार्यलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए।

छलफलमा महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी थिए।

प्रधानमन्त्रीको तर्फबाट प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र तथा प्रमुख स्वकीय सचिव सुवास शर्मा पनि छलफलमा सहभागी भएका थिए।

प्रकाशित मिति: २५ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com