काठमाडौं। सामाजिक अभियन्ता तथा कलाकार सीताराम कट्टेल ‘धर्मुस’ले आफूविरुद्ध जे–जस्ता टिप्पणी, आलोचना वा गाली भए पनि आफ्नो परिवारलाई त्यसमा नतान्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भावुक सन्देशमा उनले रंगशाला निर्माण अभियानका क्रममा आफू र परिवारले लामो समयदेखि मानसिक पीडा, बदनामी र धम्की सहँदै आएको बताएका हुन्।

धर्मुसले देश र समाजका लागि विभिन्न सामाजिक अभियान सञ्चालन गर्ने क्रममा आफूहरूले चरित्रहत्या, अपमान र ज्यान मार्ने धम्कीसम्म सामना गरेको उल्लेख गर्दै ती सबै सहेर पनि सामाजिक सेवाको यात्राबाट पछि नहटेको बताए।

उनले पत्नी कुञ्जना घिमिरे (सुन्तली) सुरुदेखि नै रंगशाला निर्माण अभियानमा सहभागी हुन इच्छुक नभएको खुलासा गरेका छन्। परिवार, विशेषगरी छोरीको स्वास्थ्य र भविष्यलाई प्राथमिकता दिनुपर्ने भन्दै कुञ्जनाले पटक–पटक यो जिम्मेवारी नलिन सुझाव दिएको उनले स्मरण गरेका छन्।

तर आफूले रंगशाला निर्माणलाई राष्ट्रको सपना र नेपाली जनताको साझा अभियानका रूपमा व्याख्या गर्दै पत्नीलाई साथ दिन आग्रह गरेको धर्मुसले उल्लेख गरेका छन्। आफ्ना व्यक्तिगत चाहना र खुसी त्यागेर अभियानमा साथ दिएको भन्दै उनले कुञ्जनाको त्यागको खुलेर प्रशंसा गरेका छन्।

धर्मुसका अनुसार अभियानका क्रममा उनकी पत्नीले अत्यधिक मानसिक तनाव र पीडा झेल्नुपरेको छ। अहिले पनि सामाजिक सञ्जालमा आउने अपमानजनक टिप्पणी र गालीका कारण उनी थप पीडित भइरहेको उनले बताएका छन्।

यही सन्दर्भमा धर्मुसले भावुक अपिल गर्दै भनेका छन्, “यो अभियानको जिम्मेवार म हुँ, मेरो परिवार होइन। यदि कसैलाई गाली गर्नै छ भने मलाई गर्नुस्। तर मेरी पत्नी, छोरी र परिवारलाई अपमान नगर्नुहोस्। उनीहरूलाई मानसिक पीडा दिने काम नगरिदिनुहोस्।”

उनले सामाजिक सञ्जालमा सभ्यता, संस्कार र मानवताको सम्मान गर्नुपर्नेमा जोड दिँदै असहमति वा आलोचना व्यक्त गर्दा पनि व्यक्तिगत जीवन र परिवारमाथि आक्रमण नगर्न आग्रह गरेका छन्। विचार फरक हुन सक्ने भए पनि अपमान, घृणा र मानसिक यातना फैलाउने प्रवृत्तिले समाजलाई सकारात्मक दिशामा लैजान नसक्ने उनको भनाइ छ।

सन्देशको अन्त्यमा धर्मुसले आफूले जति नै कठिनाइ भोगे पनि देश र नेपाली जनताको सुख, समृद्धि र प्रगतिका लागि निरन्तर शुभकामना व्यक्त गर्दै भगवान् पशुपतिनाथसँग सबैको कल्याणको प्रार्थना गरेका छन्।

https://www.facebook.com/share/p/191ZH5yFZf/

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com