काठमाडौं । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले विधिको शासन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार स्वयं कानुनी मर्यादा र संवैधानिक दायित्वप्रति उत्तरदायी हुनुपर्ने बताएका छन्।
त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको घटनालाई उल्लेख गर्दै अर्यालले सामाजिक सञ्जालमार्फत सरकार नागरिकको सहयात्री बन्नुपर्नेमा उल्टै उनीहरूसँग दूरी र द्वन्द्व बढाउने दिशामा अघि बढेको टिप्पणी गरेका हुन्।
उनले मुलुकलाई फेरि द्वन्द्व र अस्थिरताको चक्रमा धकेल्ने गल्ती दोहोरिन नहुने उल्लेख गर्दै कानुनी राज्यमा नागरिक मात्र होइन, सरकार पनि विधि, कानुन र संविधानको पूर्ण पालना गर्न बाध्य हुने बताए।
अर्यालले सबै विचार, वर्ग र समुदायका नागरिकसँग सहकार्य, सत्यनिष्ठा र मानवताका आधारमा राज्य सञ्चालन हुनुपर्ने धारणा राख्दै सुशासनको आधार नै कानुनी शासन भएको उल्लेख गरेका छन्।
उनले कानुनी शासन भएको मुलुकमा आम नागरिकले दुःख र सास्ती मात्रै भोग्ने तथा राज्यसत्तासँग जोडिएका व्यक्तिले उन्मुक्ति पाउने अवस्था स्वीकार्य हुन नसक्ने बताए।
वर्तमान परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै अर्यालले अहिले देखिएका संकेत सकारात्मक नरहेको टिप्पणी गरेका छन्। साथै, गणेश नेपालीको घटनामा निष्पक्ष छानबिन गरी पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग आग्रह गरेका छन्।
प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार













प्रतिक्रिया