काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको घटनालाई राजनीतिक लाभका लागि प्रयोग नगर्न विपक्षी दलका सांसदहरूलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले पीडादायी घटनालाई राजनीतिक रंग दिन नहुने स्पष्ट पारे।
गृहमन्त्री गुरुङले सरकारले गणेश नेपालीको ज्यान बचाउन हरसम्भव प्रयास गरेको दाबी गर्दै चिकित्सकहरूको सल्लाह र उपलब्ध स्रोत–साधनका आधारमा उपचार व्यवस्थापन गरिएको बताए। ‘हामीले उहाँलाई बचाउन सक्दो प्रयास गर्यौँ, तर दुर्भाग्यवश सफल हुन सकेनौँ। यस्तो संवेदनशील घटनामा राजनीति गर्नु उचित हुँदैन,’ उनले भने।
सांसदहरूले आफूले वीर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारमाध्यमलाई बोलाएर ‘स्टन्ट’ गरेको आरोप लगाएपछि गुरुङले त्यसको खण्डन गरे। ‘मैले प्रचारका लागि मिडिया बोलाएको होइन। मेरो उद्देश्य उपचारको समन्वय र आवश्यक व्यवस्थापन गर्नु थियो,’ उनले स्पष्ट पारे।
सदनमा बोल्दै उनले आफू सत्य बोल्न प्रतिबद्ध रहेको उल्लेख गर्दै भने, ‘मलाई ढाँट्न आउँदैन। संसद्लाई ढाँट्नु भनेको पाप गर्नु हो।’
गृहमन्त्रीले राजनीतिक दलहरूले विगतका संवेदनशील घटनामा पनि राजनीति गरेको आरोप लगाए। निर्मला पन्त हत्या प्रकरण उल्लेख गर्दै उनले ‘निर्मला पन्तजस्ती बालिकाको शवमाथिसमेत राजनीति गर्ने प्रवृत्ति देखिएको’ टिप्पणी गरे।
दैलेख दुर्घटनाको उद्धारका क्रममा हेलिकोप्टर प्रयोग नगरिएको विषयमा उठेको प्रश्नको जवाफ दिँदै उनले भौगोलिक अवस्थाका कारण हरेक दुर्घटनामा हवाई उद्धार सम्भव नहुने बताए। ‘जहाँ हेलिकोप्टर पुगेर प्रभावकारी उद्धार गर्न सक्दैन, त्यहाँ अन्य विकल्प अपनाउनुपर्छ,’ उनले भने।
ट्राफिक जरिवानाबारे उठेका प्रश्नमा पनि उनले कानुन कार्यान्वयन गर्ने निकायले विद्यमान कानुनअनुसार मात्रै काम गर्ने स्पष्ट पारे। ‘जरिवानाको व्यवस्था सरकारले मनलाग्दी बनाएको होइन, संसद्ले बनाएको कानुन कार्यान्वयन गरिएको हो। जरिवाना बढाउने प्रस्ताव अझै विधेयककै चरणमा छ,’ उनले बताए।
सम्बोधनको अन्त्यमा गृहमन्त्री गुरुङले सरकार नागरिकको पीडाप्रति संवेदनशील रहेको उल्लेख गर्दै कुनै पनि नागरिकलाई दुःखमा देख्न नचाहने बताए। ‘हामी जनताको मात्रै होइन, विपक्षीको पनि आँसु देख्न चाहँदैनौँ। सबै नागरिकको सुरक्षाका लागि सरकार प्रतिबद्ध छ,’ उनले भने।
प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार












प्रतिक्रिया