काठमाडौं । प्रतिनिधिसभामा गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिप्रति नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले असन्तुष्टि जनाएका छन्। उनले आफ्नो संसदीय जीवनमै पहिलो पटक सदनमा ‘हप्काइँ र खप्काइँ’को सामना गर्नुपरेको टिप्पणी गरेका हुन्।
गणेश नेपालीको आत्मदाह प्रकरणबारे सांसदहरूले उठाएका प्रश्नको गृहमन्त्री गुरुङले जवाफ दिने क्रममा कडा अभिव्यक्ति दिएपछि बोल्दै सांसद केरुङले सभामुखको ध्यानाकर्षण गराए।
उनले गृहमन्त्रीले संसदमा आएर जवाफ दिनु आफ्नो संवैधानिक दायित्व भएको उल्लेख गर्दै त्यसमा कुनै विवाद नभएको बताए। तर, जनप्रतिनिधिहरूप्रति प्रयोग गरिएको भाषा र प्रस्तुतिप्रति भने आफू असन्तुष्ट रहेको उनको भनाइ थियो।
‘मेरो जीवनमा पहिलो पटक सदनमा यस्तो हप्काइँ र खप्काइँ सुन्नुपर्यो। यस विषयमा सम्माननीय सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु,’ केरुङले भने।
उनले गृहमन्त्री रातदिन जनताको सेवामा खटिनु जिम्मेवारीको विषय भए पनि संसदमा सबै सांसदप्रति सम्मानजनक र संयमित भाषा प्रयोग हुनुपर्ने धारणा राख्दै मन्त्रीको अभिव्यक्ति शैलीले आफूलाई दुःखी बनाएको बताए।
प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार













प्रतिक्रिया