काठमाडौँ । अमेरिकी भिसा आवेदनका क्रममा नक्कली एसएलसी प्रमाणपत्र पेस गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ की ४१ वर्षीया उषा देवी कँडेल रहेकी छन्। उनी हाल काठमाडौँ महानगरपालिका–३२ जडीबुटीमा बस्दै आएकी थिइन्।
नेपालस्थित अमेरिकी दूतावासले भिसा आवेदनसँग पेस गरिएको एसएलसी प्रमाणपत्र नक्कली रहेको जानकारी गराएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा कँडेललाई बिहीबार काठमाडौँ महानगरपालिका–३ महाराजगञ्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीविरुद्ध लिखत सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ (भद्रकाली) पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार











प्रतिक्रिया