काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले मुगुका गणेश नेपालीकी छोरीको स्नातक तहसम्मको अध्ययन खर्च व्यहोर्ने घोषणा गरेका छन्। साथै उनले गणेशको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

कर्णाली प्रदेशको सुर्खेत रंगशालामा शनिबार आयोजित कार्यक्रममा बोल्दै बस्नेतले गणेशको परिवार तत्काल आर्थिक संकटमा रहेको उल्लेख गर्दै एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे। उनले गणेशकी छोरीको दीर्घकालीन भविष्य सुरक्षित गर्न स्नातक तहसम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाउने जिम्मेवारी आफूले लिने बताए।

उनले काठमाडौं महानगरपालिकाले हाल सहयोग गरे पनि भविष्यमा त्यसको निरन्तरता रहने–नरहने निश्चित नभएकाले बालिकाको शिक्षालाई प्राथमिकतामा राखेर यो निर्णय गरिएको बताए।

बस्नेतले यसअघि संसद् भवनअगाडि आत्मदाह गरेका प्रेम आचार्यका दुई सन्तानको निःशुल्क अध्ययनको व्यवस्था मिलाएको स्मरण गर्दै आवश्यक पर्दा पीडित परिवारको साथमा उभिने प्रतिबद्धता दोहोर्याए।

मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको शुक्रबार उपचारका क्रममा निधन भएको थियो। उनले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिक आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते अवस्थामा उनको उपचार भइरहेको थियो।

प्रकाशित मिति: २७ असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com