काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ट्राफिक जरिबानासम्बन्धी अभिव्यक्तिलाई लिएर विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनमाथि कटाक्ष गरेका छन्। उनले कानुन र नियम जनताको सुरक्षा र हितका लागि बन्नुपर्ने, जनतालाई पीडा दिने माध्यम बन्न नहुने बताएका छन्।
मन्त्री पुनले हालै ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई ५० हजार रुपैयाँसम्म जरिबाना गरिनुपर्ने र जरिबाना तिर्न नसके जेल सजाय हुनुपर्ने धारणा सार्वजनिक गरेका थिए। उक्त अभिव्यक्ति विवादित बनेपछि उनले सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमलाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन्।
यही विषयलाई लक्षित गर्दै साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नियम–कानुनको उद्देश्य जनताको जीवनको रक्षा गर्नु हुनुपर्ने उल्लेख गरे।
उनले लेखेका छन्, ‘महावीर दाइ, मान्छेको जीवन, जनताको जीवन भन्दा ठुलो हुँदैन के नियम कानून ! नियम कानून भनेको जनता बचाउने खालको बनाउनु पर्छ ! जनता मार्ने खालको होइन ! खोइ कुरा बुझ्या वैज्ञानिक मन्त्रीले भन्या !’
प्रकाशित मिति: २७ असार २०८३, शनिबार













प्रतिक्रिया