काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढीपीडितको अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका युवामाथि भएको कुटपिट तथा पक्राउको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले माजिद अन्सारी, नहेन्द्र खड्का, सरिश्मा थापालगायत युवामाथि बल प्रयोग गरी नियन्त्रणमा लिनु चिन्ताजनक, लज्जास्पद र निन्दनीय भएको बताएका छन्।
उनले लोकतन्त्रमा नागरिकले प्रश्न उठाउन पाउनु नैसर्गिक अधिकार भएको उल्लेख गर्दै त्यसको उत्तर गिरफ्तारी, लाठीचार्ज वा दमन हुन नसक्ने बताए। फरक मत र आलोचना सुन्न सक्ने क्षमता नै लोकतान्त्रिक सरकारको विशेषता भएको उनको भनाइ छ।
थापाले आलोचनालाई दमनबाट होइन, संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिँदै फरक विचार र जनताका प्रश्न सुन्न नसक्नु सत्ताको कमजोरी भएको टिप्पणी गरेका छन्।
उनले पक्राउ परेका सबै युवालाई अविलम्ब निशर्त रिहा गर्न सरकारसँग माग गरेका छन्।
प्रकाशित मिति: २७ असार २०८३, शनिबार












प्रतिक्रिया