काठमाडौं । महिलाको सुरक्षित सार्वजनिक यातायातका लागि सरकारले घोषणा गरेको ‘ब्लु बस’ सेवा साउन १ गतेदेखि नै सञ्चालन हुने सम्भावना न्यून देखिएको छ। तयारी अपुग, बजेट सुनिश्चित नभएको र कार्यविधि तयार नभएकाले सेवा सुरु हुन ढिलाइ हुने संकेत साझा यातायातले दिएको हो।

सरकारले सुरुमा साझा यातायातका हरिया बसलाई निलो बनाएर ‘ब्लु बस’ सञ्चालन गर्ने तयारी गरेको चर्चा चले पनि व्यापक आलोचनापछि बसको मौलिक हरियो रङ यथावत् राख्ने निर्णय गरिएको छ। अब बसको पहिचानका लागि स्टिकर वा अन्य दृश्यात्मक संकेत प्रयोग गर्ने तयारी भइरहेको साझा यातायातले जनाएको छ।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालका अनुसार सामाजिक सञ्जालमा भाइरल भएका निलो बसका अधिकांश तस्बिर कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी बनाइएका हुन्। उनले ६४ वर्ष पुरानो साझाको ब्रान्ड र पहिचान जोगाउन बसको रङ परिवर्तन नगर्ने स्पष्ट पारे।

अर्यालका अनुसार सरकारसँग हालसम्म सेवा सञ्चालनसम्बन्धी औपचारिक सम्झौता भएको छैन। बजेट, सञ्चालन खर्च र कार्यविधि सुनिश्चित भएपछि मात्र सेवा सुरु गरिने उनले बताए। पर्याप्त आर्थिक स्रोतबिना सेवा सुरु गर्दा बीचमै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले दीर्घकालीन व्यवस्थापन सुनिश्चित गरेर मात्र अघि बढ्ने उनको भनाइ छ।

सरकारले पहिलो चरणमा काठमाडौं उपत्यकामा आठवटा विद्युतीय बसमार्फत महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने योजना बनाएको छ। प्रारम्भिक रूपमा बुढानीलकण्ठ–लगनखेल–गोदावरी, नागढुंगा–विमानस्थल तथा चक्रपथका विभिन्न रुटमा सेवा सञ्चालन गर्ने प्रस्ताव छ।

‘ब्लु बस’ सेवा सरकारको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूची र आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको कार्यक्रम हो। पहिलो चरणमा कम्तीमा २५ वटा बस सञ्चालन गर्ने लक्ष्य राखिए पनि आवश्यक तयारी पूरा नभएकाले सेवा सुरु हुने मिति अझै अनिश्चित बनेको छ।

प्रकाशित मिति: २८ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com