काठमाडौं । संघीय संसद्को बजेट अधिवेशनबाट १० वटा विधेयकले कानुनको रूप पाएका छन्। वैशाख २८ देखि असार २६ सम्म चलेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त अधिवेशनले बजेट, अध्यादेश प्रतिस्थापन तथा नियमित विधेयक गरी १० कानुन पारित गरेको हो।
संघीय संसद् सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीका अनुसार अधिवेशनले तीन बजेटसम्बन्धी विधेयक, छ अध्यादेश प्रतिस्थापन विधेयक र एउटा नियमित विधेयक पारित गरेको छ।
अध्यादेश प्रतिस्थापनमार्फत स्वास्थ्य विज्ञान प्रतिष्ठान, सहकारी, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण र सार्वजनिक खरिदसम्बन्धी चार विधेयक कानुन बनेका छन्। यस्तै मतदाता नामावली र प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी दुई संशोधन विधेयकले पनि कानुनी मान्यता पाएका छन्।
यसै अधिवेशनबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक–२०८२ पनि पारित भई कानुन बनेको छ। साथै राष्ट्र ऋण उठाउने विधेयक–२०८३, विनियोजन विधेयक–२०८३ र आर्थिक विधेयक–२०८३ समेत पारित भएका छन्।
संसद् सचिवालयमा अहिले अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन तथा खारेज गर्ने विधेयक, राष्ट्रिय सेवा दल विधेयक र केही विशेष सेवा ऐन–२०४२ सम्बन्धी विधेयक विचाराधीन छन्।
यसबीच, तत्काल छलफल गर्नुपर्ने महत्त्वपूर्ण विधेयक नरहेकाले सरकारले बजेट अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना छ। संविधानअनुसार संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य राष्ट्रपतिले सरकारको सिफारिसमा गर्ने व्यवस्था छ।
प्रकाशित मिति: २८ असार २०८३, आइतबार













प्रतिक्रिया