काठमाडौं । राहदानी विभागले सोमबारदेखि नयाँ प्रविधिमा आधारित प्रणालीमार्फत विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइ तथा वितरण प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ।
जर्मन कम्पनीको प्राविधिक सहयोगमा विकसित नयाँ प्रणालीको शुभारम्भ कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतकुमार राईसहित उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा परराष्ट्रमन्त्री खनालले नयाँ प्रणालीबाट जारी भएका पहिलो दुई राहदानी निवेश शाही र ओस्कर गुरुङलाई हस्तान्तरण गरे।
राहदानी विभागका अनुसार अत्याधुनिक सूचना प्रविधिमा आधारित नयाँ प्रणाली ‘गो–लाइभ’ भएसँगै सेवा सञ्चालन सुरु गरिएको हो। प्रारम्भिक चरणमा प्रणालीको गति सुस्त हुने, केही प्राविधिक समस्या देखिने तथा राहदानी वितरणमा सामान्य ढिलाइ हुन सक्ने भए पनि त्यसको समाधानका लागि प्राविधिक टोली २४सै घण्टा तयारी अवस्थामा परिचालन गरिएको विभागले जनाएको छ।
विभागका अनुसार करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा सफलतापूर्वक स्थानान्तरण गरिएको छ।
विभागले आगामी केही साताभित्र प्रणालीलाई थप स्थिर, द्रुत र प्रभावकारी बनाइने विश्वास व्यक्त गरेको छ। साथै, अत्यावश्यक आवश्यकता भएका सेवाग्राहीलाई मात्रै तत्काल राहदानीका लागि आवेदन दिन आग्रह गर्दै यसले नयाँ प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने जनाएको छ।
प्रकाशित मिति: २९ असार २०८३, सोमबार













प्रतिक्रिया