एजेन्सी। अमेरिका–इरान तनाव थप चर्किएको छ। अमेरिकी सेनाले पछिल्लो २४ घन्टाभित्र इरानका विमानस्थलसहित १०४ वटा सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको छ।
अमेरिकी सेनाका अनुसार लगातार दोस्रो रात सञ्चालन गरिएको हवाई कारबाहीमा इरानका विभिन्न सैन्य पूर्वाधार र रणनीतिक लक्ष्यलाई निशाना बनाइएको हो। आक्रमणपछि इरानको एक विमानस्थल परिसरमा रहेको भवनमा भीषण आगलागी भएको दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।
यसबीच, इरानी सरकारी सञ्चारमाध्यमहरूले अमेरिकी आक्रमणको जवाफस्वरूप इरानी सेनाले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै नयाँ चरणको प्रतिकारात्मक कारबाही सुरु गरेको दाबी गरेका छन्।
नयाँ सैन्य टकरावले अमेरिका र इरानबीच जारी कूटनीतिक वार्तामा पनि गम्भीर असर पार्ने संकेत देखिएको छ। ६० दिने वार्ताको मध्य चरणमा रहेका दुवै देशबीच सम्भावित सहमतिप्रति आशा कायम रहेकै बेला बढ्दो सैन्य गतिविधिले तनावलाई थप जटिल बनाएको विश्लेषण गरिएको छ।
क्षेत्रीय सुरक्षा अवस्था पनि थप संवेदनशील बनेको छ। बहराइनमा सम्भावित हवाई खतरालाई ध्यानमा राख्दै साइरन बजाएर उच्च सतर्कता अपनाइएको छ। कुवेतको सेनाले शत्रुतापूर्ण हवाई लक्ष्यहरूको निगरानी र प्रतिकार गरिरहेको जनाएको छ।
यस्तै, जोर्डनको सेनाले इरानबाट प्रहार गरिएका चार वटा मिसाइललाई आफ्नो हवाई क्षेत्र पुग्नुअघि नै अवरोध गरी नष्ट गरिएको जानकारी दिएको छ।
लगातारको सैन्य तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पनि असर देखिएको छ। सप्ताहन्तभर भएका आक्रमणको प्रभावस्वरूप आइतबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेल र अमेरिकी कच्चा तेल (डब्लुटिआई)को मूल्य तीन प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
प्रकाशित मिति: २९ असार २०८३, सोमबार













प्रतिक्रिया