काठमाडौं । विभिन्न सञ्चारमाध्यमका कार्यालयको प्रवेशद्वारमा शंकास्पद ढंगले सवारीसाधन पार्किङ गरिएको घटनाबारे सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व केन्द्रीय सदस्य मधुसुदन ढकालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।
सोमबार बिहान अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडियाको कार्यालय अगाडि बेवारिसे जस्तो देखिने गरी गाडी पार्किङ गरिएपछि उक्त घटनाले व्यापक चासो र चर्चा पाएको थियो।
घटनाप्रति प्रतिक्रिया जनाउँदै ढकालले यसलाई अव्यवस्थित पार्किङले अरूलाई पार्ने असुविधाबारे साङ्केतिक रूपमा सचेत गराउने प्रयासका रूपमा पनि बुझ्न सकिने टिप्पणी गरेका छन्।
फेसबुकमा उनले लेखेका छन्, ‘अव्यवस्थित पार्किङले कति गाह्रो पर्न सक्छ भन्ने साङ्केतिक जानकारी दिन खोजिएको पनि हुन सक्छ। अर्को पक्ष, ‘जनताले जे पनि गर्न पाउनुपर्छ’ भन्ने सोचले अरूलाई कति असहज बनाउँछ भन्ने सन्देश दिन खोजिएको पनि हुन सक्छ।’
यस घटनाले सञ्चारमाध्यमको नियमित आवतजावतमा अवरोध पुगेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमका कार्यालयको गेटमै शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी पत्रकार तथा कर्मचारीको आवतजावतमा अवरोध सिर्जना गर्नुका साथै त्रास फैलाउने प्रयास भएको जनाएको छ। महासंघले घटनाको निष्पक्ष छानबिन गरी जिम्मेवार व्यक्तिमाथि आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

प्रकाशित मिति: २९ असार २०८३, सोमबार













प्रतिक्रिया