काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीमाथि प्रहरीले कुटपिट गरी नियन्त्रणमा लिएको घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगमा औपचारिक उजुरी दर्ता भएको छ।

आयोगका सूचना अधिकारी पवनकुमार भट्टका अनुसार जेनजी मुभमेन्ट अलायन्सले सोमबार आयोगमा उजुरी दर्ता गराउँदै घटनामा संलग्न प्रहरी टोली तथा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको प्रतिनिधि भएको दाबी गर्ने ओजस्वी थापाविरुद्ध छानबिन र आवश्यक कारबाहीको माग गरेको छ।

उजुरीमा अन्सारीमाथि भएको व्यवहारले नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हकहरूको उल्लंघन भएको दाबी गरिएको छ। विशेषगरी संविधानको धारा १६ (सम्मानपूर्वक बाँच्न पाउने हक), धारा १७ (स्वतन्त्रताको हक), धारा २० र धारा २२ विपरीत कार्य भएको आरोप लगाइएको छ।

अलायन्सले अन्सारीको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, निःशस्त्र रूपमा शान्तिपूर्ण भेला हुने अधिकार र सम्मानपूर्वक बाँच्न पाउने अधिकारमाथि हस्तक्षेप गर्दै उनीमाथि कुटपिट गरी गैरकानुनी रूपमा नियन्त्रणमा लिइएको दाबी गरेको छ।

राष्ट्रिय मानवअधिकार आयोगका अनुसार उजुरीसँगै घटनाको भिडियो, अस्पतालको स्वास्थ्य प्रतिवेदनलगायतका प्रमाणसमेत पेश गरिएको छ। आयोगले प्राप्त उजुरीका आधारमा आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रकाशित मिति: २९ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com