काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्भित्र प्रतिपक्षको भूमिका प्रभावकारी र जिम्मेवार ढंगले निर्वाह गर्दै आगामी दिनमा अझ सशक्त रूपमा प्रस्तुत हुने बताएका छन्।
सिंहदरबारमा सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै आङ्देम्बेले प्रतिपक्षको उपस्थिति देखाउनका लागि ‘स्टन्ट’ गर्न आवश्यक नरहेको उल्लेख गर्दै कांग्रेसले सदनमा इमानदारीपूर्वक जनताको आवाज उठाइरहेको दाबी गरे।
उनले भने, ‘प्रतिपक्षको उपस्थिति देखाउन के–कस्ता स्टन्ट गर्नुपर्छ, त्यो हामीलाई थाहा छैन। हामीले अहिलेसम्म इमानदारीका साथ जनताका आवाज उठाउने प्रयास गरेका छौँ। बाहिर एउटा र भित्र अर्को कुरा गर्ने हाम्रो शैली छैन। बाहिर जे भन्छौँ, सदनभित्र पनि त्यही अडान राख्छौँ।’
आङ्देम्बेले मुलुकका समसामयिक र राष्ट्रिय महत्वका विषयदेखि आम नागरिकका दैनिक समस्यासम्मलाई कांग्रेसले संसद्मा प्राथमिकताका साथ उठाउँदै आएको बताए। संसद्मा अहिलेसम्म निर्वाह गरिएको भूमिकाको समीक्षा गर्दै आगामी दिनमा प्रतिपक्षको भूमिका अझ प्रभावकारी बनाइने उनको भनाइ थियो।
उनका अनुसार संसदीय दलभित्र उठेका धारणा प्रमुख सचेतक र सचेतकमार्फत औपचारिक रूपमा सदनमा प्रस्तुत हुने गरेका छन् भने अन्य सांसदहरूले पनि आफ्नो जिम्मेवारीअनुसार विभिन्न विषयमा धारणा राखिरहेका छन्।
प्रकाशित मिति: २९ असार २०८३, सोमबार













प्रतिक्रिया