एजेन्सी । भारतको महाराष्ट्र राज्यस्थित एक फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा फोहोरको विशाल थुप्रो खस्दा नौ जना कामदारको ज्यान गएको छ। लगातारको वर्षापछि भएको दुर्घटनामा अन्य १४ जनाको जीवितै उद्धार गरिएको छ।
कम्पनीका अनुसार दुर्घटना गत बुधबार पुणे सहरको बाहिरी क्षेत्रमा रहेको ‘एन्टोनी वेस्ट’ फोहोर प्रशोधन केन्द्रमा भएको हो। केन्द्रसँगै रहेको ल्यान्डफिल (फोहोर विसर्जन स्थल) अस्थिर बनेपछि हजारौं टन फोहोर खसेर प्रशासनिक भवनमाथि पुगेको थियो। त्यसबेला भवनभित्र रहेका २३ जना कर्मचारी फोहोरले पुरिएका थिए।
सोमबार कम्पनीले जारी गरेको विज्ञप्तिमा निरन्तरको वर्षाका कारण ल्यान्डफिल कमजोर बनेपछि फोहोरको ठूलो भाग खसेर दुर्घटना भएको उल्लेख गरिएको छ। घटनामा नौ जनाको मृत्यु भएको पुष्टि गर्दै बाँकी १४ जनालाई सुरक्षित उद्धार गरिएको कम्पनीले जनाएको छ।
उद्धार कार्यमा संलग्न अधिकारीहरूका अनुसार निरन्तरको वर्षा र अस्थिर भू–भागका कारण खोज तथा उद्धार अभियान चुनौतीपूर्ण बनेको थियो। भग्नावशेष र फोहोरमुनि फसेकाहरूलाई सुरक्षित निकाल्न उद्धार टोलीले निकै कठिन परिस्थितिमा काम गर्नुपरेको उनीहरूको भनाइ छ।
घटनापछि संरचनागत सुरक्षा तथा प्राविधिक परीक्षण पूरा नभएसम्म फोहोर प्रशोधन केन्द्रको सञ्चालन अस्थायी रूपमा स्थगित गरिएको छ।
भारतमा मनसुनका कारण जुनदेखि सेप्टेम्बरसम्म भारी वर्षा हुने गर्छ। यस अवधिमा भवन भत्किने, पहिरो जाने र पूर्वाधारमा क्षति पुग्ने घटनाहरू बारम्बार दोहोरिने गरेका छन्।
वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण भारतमा अतिवृष्टि, अत्यधिक गर्मी तथा अन्य चरम मौसमी घटनाको आवृत्ति र तीव्रता बढ्दै गएको चेतावनी दिएका छन्। मौसमविद्हरूले सम्भावित शक्तिशाली ‘एल निनो’को प्रभावले यस वर्ष भारतको मनसुनी प्रणालीमा समेत असर पार्न सक्ने बताएका छन्।
प्रकाशित मिति: २९ असार २०८३, सोमबार













प्रतिक्रिया