काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ।
न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले दुवै पक्षको बहस सुनेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई थप तीन दिनको म्याद प्रदान गरेको हो।
यससँगै पौडेलविरुद्ध अनुसन्धानका लागि विशेष अदालतबाट पाँचौँ पटक हिरासत म्याद थप गरिएको छ। उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि असार ८ गते सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो।
अनुसन्धानका क्रममा पौडेलमाथि एक व्यवसायीलाई गैरकानुनी लाभ पुग्ने गरी सहयोगी भूमिका खेलेको आरोप लगाइएको छ।
थुनछेक म्याद माग गर्ने क्रममा सरकारी पक्षले श्रीराम टोबाको प्रालिको २० प्रतिशत सेयर हिमालयन एसेट म्यानेजमेन्ट प्रालिले खरिद गरेको कारोबार शंकास्पद देखिएको दाबी गरेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन एसेट म्यानेजमेन्ट प्रालिको लगानी तथा सेयर कारोबारबारे अनुसन्धान गरिरहेको जनाएको छ। सरकारी वकिलका अनुसार कम्पनीले विभिन्न क्षेत्रमा गरेको लगानीको वास्तविक लाभग्राही (बेनेफिसियल ओनर) को पहिचानमा शंका उत्पन्न भएपछि अनुसन्धानको दायरा विस्तार गर्दै पौडेललाई पक्राउ गरिएको हो।
प्रकाशित मिति: २९ असार २०८३, सोमबार












प्रतिक्रिया