काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसदमा उठेका प्रश्नको जवाफ दिन सरकार तयार नदेखिएको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीले सीमासम्बन्धी दिएको विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिए पनि त्यसबारे कुनै स्पष्ट प्रतिक्रिया नआएको भन्दै सरकारको शैली ‘बरु ढुङ्गा बोल्छ, मान्छे बोल्दैन’ भन्ने उखानजस्तै भएको टिप्पणी गरे।
प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुकको सीमासम्बन्धी विषयमा अनावश्यक आशंका सिर्जना गरेको उल्लेख गर्दै उनले यदि उक्त भनाइ नियतवश भएको होइन भने प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गरे।
राईले काठमाडौं महानगरपालिकाको प्रमुख रहँदा प्रधानमन्त्रीले सामाजिक सञ्जालमा गरेको ‘सिंहदरबार जलाइदिन्छु’ भन्ने अभिव्यक्ति स्मरण गराउँदै त्यसपछि मुलुकका संवैधानिक संस्थाप्रति निरन्तर असम्मान देखिएको आरोप लगाए। उनले अहिलेको परिस्थितिमा देशको सीमासमेत असुरक्षित हुने चिन्ता व्यक्त गरे।
सांसद राईले वर्तमान सरकारले गरिब र विपन्न वर्गको हितका लागि काम गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा भने उनीहरूकै जीवन थप कठिन बनाउने नीति अवलम्बन गरेको आरोपसमेत लगाए।
प्रकाशित मिति: ३० असार २०८३, मंगलबार













प्रतिक्रिया