काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्रबहादुर शाहीले राज्यको नीति र निर्णयका कारण नागरिक आत्महत्या गर्न बाध्य हुने अवस्था सिर्जना हुनु पनि हत्या सरहको गम्भीर अपराध भएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले नागरिकको जीवनभन्दा ठूलो कुनै कानुन, नियम वा सत्ता हुन नसक्ने उल्लेख गर्दै सरकारले कानुन कार्यान्वयनमा दोहोरो मापदण्ड अपनाएको आरोप लगाए।

विगतमा ‘सिंहदरबारभन्दा मान्छेको जीवन ठूलो’ भन्ने राजनीतिक नारा दिनेहरू नै सत्तामा पुगेपछि ‘मान्छेको जीवनभन्दा नियम ठूलो’ भन्ने व्यवहारमा उत्रिएको टिप्पणी गर्दै उनले राज्यका कारण नागरिकको बाँच्ने आधार खोसिनु अस्वीकार्य भएको बताए।

सांसद शाहीले कुनै व्यक्तिलाई रोजीरोटीबाट वञ्चित गरी निराशाको यस्तो अवस्थामा पुर्‍याइयो कि उसले आत्महत्या रोज्न बाध्य भयो भने त्यो गोली हानेर हत्या गरेसरहको अपराध हुने धारणा राखे।

उनले सडकमा अव्यवस्थित पार्किङको पक्षमा आफूहरू नरहेको स्पष्ट पार्दै यस विषयमा भ्रम फैलाउने प्रयास नगर्न आग्रह गरे। साथै, ट्राफिक नियम उल्लंघन गर्दा सर्वसाधारणमाथि कडा कारबाही हुने तर सिटबेल्टसमेत नलगाई सवारी चलाउने उच्चपदस्थ व्यक्तिमाथि कारबाही नहुने अवस्थाले कानुनको समान कार्यान्वयनमाथि प्रश्न उठाएको बताए।

मुगुका युवा गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा अपनाइएको प्रक्रियाप्रति पनि उनले असन्तुष्टि जनाए। गम्भीर जलन भएका बिरामीलाई तत्काल सुरक्षित एम्बुलेन्समार्फत उपचारका लागि लैजानुपर्नेमा अमानवीय व्यवहार गरिएको आरोप लगाउँदै उनले समयमै प्रभावकारी उपचार उपलब्ध गराइएको थियो वा थिएन, थप उपचारका लागि विदेश लैजान किन ढिलाइ भयो तथा घटनासँग सम्बन्धित सम्पूर्ण विषयमा उच्चस्तरीय छानबिन गरी संसद्लाई स्पष्ट जवाफ दिन सरकारसँग माग गरे।

प्रकाशित मिति: ३० असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com