काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले सञ्चारगृहअगाडि गाडी तेर्स्याएर त्रास सिर्जना गर्ने घटनामा संलग्न व्यक्तिमात्र होइन, त्यसका योजनाकारमाथि पनि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद मल्लले सोमबार बिहान सञ्चारगृहअगाडि गाडी तेर्स्याएर आतंक सिर्जना गर्ने प्रयास भएको दाबी गरे। प्रमुख प्रतिपक्षी दलका नेताको घर खोज्ने बहानामा गरिएको उक्त गतिविधि अन्ततः राज्य संरक्षित व्यक्तिहरूसँग जोडिएको चर्चा सार्वजनिक भएको उनले उल्लेख गरे।
राज्य आफैंले यस्ता गतिविधिलाई संरक्षण गर्ने र सामान्य जरिवानामै उन्मुक्ति दिने प्रवृत्ति स्वीकार्य नहुने भन्दै उनले कानुनको निष्पक्ष कार्यान्वयन हुनुपर्नेमा जोड दिए।
सांसद मल्लले सवारी कसुरमा ५०० रुपैयाँदेखि लाखौं रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था हुँदाहुँदै घटनामा संलग्नलाई सामान्य जरिवाना गरेर छाडिएको भन्ने सूचना आएको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाए।
उनले घटनामा प्रयोग भएका सवारीसाधन जफत गरी लाखौं रुपैयाँ जरिवाना गर्न तथा घटनाको योजना बनाउने र संलग्न सबै व्यक्तिमाथि निष्पक्ष छानबिन गरी कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरे।
प्रकाशित मिति: ३० असार २०८३, मंगलबार













प्रतिक्रिया