काठमाडौं । मिटरब्याज तथा अन्यायपूर्ण ऋण असुलीविरुद्ध जनकपुरबाट पैदल मार्च गर्दै काठमाडौंतर्फ अघि बढिरहेका पीडितसँग वार्ता गर्न गृहमन्त्री सुधन गुरुङ सोमबार निजगढ पुगेका छन्।
यात्राको छैटौँ दिन नेपाल सरकारका तर्फबाट गृहमन्त्री गुरुङ आन्दोलनरत पक्षसँग प्रत्यक्ष संवाद गर्न पुगेका हुन्। निजगढस्थित उद्योग वाणिज्य संघको सभाहलमा सरकार र आन्दोलनरत पीडितबीच पहिलो चरणको वार्ता सम्पन्न भएको सहभागीहरूले बताएका छन्।
वार्ताका क्रममा आन्दोलनरत पक्षले आफूहरूले अघि सारेका ६ बुँदे माग सरकारसमक्ष औपचारिक रूपमा प्रस्तुत गरेका छन्। दुवै पक्षले मागहरूबारे थप छलफल गरी सहमतिमा पुग्न दोस्रो चरणको वार्ताको तयारी थालेका छन्।
वार्तापछि गृहमन्त्री गुरुङले आन्दोलनरत पक्षका मागबारे प्रधानमन्त्रीसँग परामर्श गरेर आवश्यक निर्णय प्रक्रियालाई अघि बढाइने बताएका छन्। उनले समस्याको समाधान संवाद र सहमतिमार्फत खोज्न सरकार सकारात्मक रहेको आश्वासन दिएका छन्।
मिटरब्याज पीडितहरू लामो समयदेखि आफूहरू आर्थिक शोषण र अन्यायको सिकार भएको भन्दै प्रभावकारी कानुनी व्यवस्था, दोषीमाथि कारबाही तथा पीडितलाई न्याय दिलाउनुपर्ने माग राख्दै जनकपुरबाट काठमाडौंसम्म पैदल मार्च गरिरहेका छन्।
सरकारसँगको वार्ता सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षासहित उनीहरूले आफ्नो आन्दोलनलाई निरन्तरता दिएका छन्।
प्रकाशित मिति: ३० असार २०८३, मंगलबार













प्रतिक्रिया