काठमाडौं । रौतहटमा पनि एक युवकले आत्मदाहको प्रयास गरेका छन्। मंगलबार राति करिब १ बजे रौतहटको गरुडा नगरपालिका-९ गम्हरियाका २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन्।

गरुडा-९ का वडा अध्यक्ष राजेश सहनीका अनुसार गौतम केही दिनयता मानसिक तनाव तथा डिप्रेसनबाट पीडित थिए। उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आत्मदाहको प्रयास गरेका हुन्। गौतम गरुडा बजारस्थित झाझ पुल नजिक छाप्रे होटल सञ्चालन गर्दै आएका थिए। सोही व्यवसायबाट उनले आफ्ना तीन छोरा र परिवारको जीविकोपार्जन गर्दै आएका थिए।

आत्मदाह लगत्तै परिवारका सदस्यले उनलाई तत्काल गरुडास्थित बेटर नेपाल अस्पताल पुर्‍याएका थिए। प्राथमिक उपचार पश्चात थप उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। उनको शरीरको करिब ३५ प्रतिशत भाग जलेको बुझिएको छ।

यसअघि गत शुक्रबार सर्लाहीको गोडैता नगरपालिका-१० सिसौटियाका ३५ वर्षीय विवेक मण्डलले पनि आत्मदाहको प्रयास गरेका थिए। उनको शरीरको करिब ८५ प्रतिशत भाग जलेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँस्थित बर्न अस्पताल लगिएको थियो। उपचारकै क्रममा मंगलबार उनको निधन भएको थियो।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com