काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेश सरकारमा नेकपा (एमाले)सँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। प्रदेश सरकार सञ्चालनका क्रममा एमालेको भूमिकाप्रति असन्तुष्टि बढेपछि कांग्रेसले आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने रणनीति अघि बढाएको हो।

पार्टीका उच्च स्रोतका अनुसार शीर्ष तहमा लगातार भएका छलफलबाट सत्ता सहकार्यलाई निरन्तरता दिने विषयमा सहमति जुट्न नसकेपछि कांग्रेसले प्रदेश सरकारबाट बाहिरिने निष्कर्ष निकालेको छ।

कांग्रेसका एक पदाधिकारीले भने, ‘सातै प्रदेश सरकारमा सहभागी हाम्रो पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी भइरहेको छ। अब प्रदेशस्तरको सहकार्यलाई निरन्तरता दिने अवस्था देखिएको छैन।’

यसैबीच बुधबार कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका चारै मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। उता सुदूरपश्चिम प्रदेशमा भने कांग्रेस नेतृत्वका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई पदमुक्त गरेका छन्।

हाल कर्णालीमा एमाले नेतृत्वको सरकार छ भने सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ। पछिल्ला घटनाक्रमसँगै अन्य प्रदेशमा पनि कांग्रेस–एमालेबीचको सत्ता साझेदारी अन्त्य हुने संकेत देखिएको छ।

कांग्रेसभित्रको छलफलमा एमालेसँग सहकार्य टुटेपछि नयाँ राजनीतिक समीकरणका लागि अन्य दलसँग संवाद अघि बढाउने वा सम्भावना नबने सबै प्रदेशमा प्रतिपक्षको भूमिकामा बस्ने विकल्पबारे पनि विचार भइरहेको स्रोतको भनाइ छ।

प्रदेशस्तरको सत्ता समीकरणमा देखिएको यो परिवर्तनले आगामी दिनमा सातै प्रदेशको राजनीतिक अंकगणित र सरकार गठनको प्रक्रियामा व्यापक प्रभाव पार्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com