काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले सरकारको पहिलो १०० दिनको कार्यकाललाई सुशासनको दृष्टिले सकारात्मक सुरुआतका रूपमा मूल्याङ्कन गरेका छन्। उनले छोटो अवधिमै व्यापक परिवर्तनको अपेक्षा गर्नु यथार्थपरक नहुने पनि बताएका छन्।
प्रतिनिधिसभाको बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै खरेलले बजेट पारित भइसकेको र आवश्यक कानुन निर्माणको प्रक्रिया अघि बढिरहेकाले संसद्को १४ दिने अवकाशलाई स्वाभाविक र उपयोगी समयका रूपमा लिनुपर्ने धारणा राखे।
उनका अनुसार यो अवधिमा सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने, स्थानीय समस्या बुझ्ने र जनचासोका विषयलाई थप नजिकबाट अध्ययन गर्ने अवसर पाउनेछन्।
सरकारको सयदिने कार्यकालबारे टिप्पणी गर्दै उनले सुरुआती चरणमै सबै क्षेत्रमा उल्लेखनीय परिवर्तनको अपेक्षा गर्नु व्यवहारिक नहुने बताए। ‘सरकारले सुशासनतर्फ केही सकारात्मक संकेत दिएको छ। यद्यपि जनताले अपेक्षा गरेअनुसारको परिणाम आउन अझै समय लाग्छ,’ उनले भने।
सरकारको कामको गति सुस्त भएको भन्ने आलोचनाप्रति प्रतिक्रिया दिँदै सांसद खरेलले जनताका गुनासा र सुझावलाई गम्भीर रूपमा लिनुपर्ने आवश्यकता औँल्याए। उनले कमजोरी र त्रुटिहरूलाई सच्याउँदै सरकारलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन रचनात्मक दबाब दिने रास्वपाको प्रतिबद्धता दोहोर्याए।
प्रकाशित मिति: ३१ असार २०८३, बुधबार













प्रतिक्रिया