काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा आयोजना गर्ने अन्तर्राष्ट्रिय फिल्म फेस्टिभललाई रचनात्मक उद्योग र पर्यटन प्रवर्द्धनसँग जोडेर अघि बढाउने भएको छ।

बुधबार नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टसँग भएको शिष्टाचार भेटवार्तामा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले फिल्म फेस्टिभललाई काठमाडौंको सांस्कृतिक, सिर्जनात्मक र पर्यटन सम्भावनालाई विश्वसामु चिनाउने महत्वपूर्ण अभियानका रूपमा अघि बढाइने बताइन्।

उनले महानगरपालिकाको मुख्य कार्यक्षेत्र चलचित्र निर्माण नभए पनि चलचित्र रचनात्मक उद्योगको विकास, समुदायसँगको सम्बन्ध विस्तार र सामाजिक सहभागिता अभिवृद्धि गर्ने प्रभावकारी माध्यम भएको उल्लेख गरिन्।

डंगोलले फेस्टिभलमा अष्ट्रेलियाका कलाकार, चलचित्र निर्माता, निर्देशक तथा प्राविधिकहरूको सहभागिता सुनिश्चित गर्न चाहेको बताउँदै नेपाल र अष्ट्रेलियाबीच चलचित्र क्षेत्रको सहकार्य विस्तार गर्न प्रस्ताव राखिन्। उनका अनुसार चलचित्रकर्मीको क्षमता अभिवृद्धि, समुदाय र शैक्षिक संस्थामा फिल्म शिक्षा तथा सचेतना, अनुसन्धान र रचनात्मक उद्योगको विकासमार्फत स्थानीय अर्थतन्त्र तथा जीवनस्तर उकास्न दुवै पक्षबीच सहकार्य गर्न सकिने सम्भावना छ।

भर्खरै सम्पन्न ‘टोल–टोलमा फिल्म महोत्सव’ को अनुभव सुनाउँदै डंगोलले चलचित्रले समुदायलाई एकै स्थानमा ल्याई सामाजिक सद्भाव र आपसी सम्बन्ध मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताइन्।

‘चलचित्रले घरभित्र सीमित रहेका मानिसलाई सार्वजनिक स्थलमा ल्याएर समुदायबीचको सम्बन्ध बलियो बनाउने काम गरेको छ,’ उनले भनिन्, ‘विशेषगरी बालबालिका र महिलाको उत्साहजनक सहभागिता तथा उनीहरूमा देखिएको सकारात्मक ऊर्जा हामीले अपेक्षा गरेअनुसारकै उपलब्धि थियो।’

भेटका क्रममा अष्ट्रेलियाका राजदूत अर्न्स्टले हरेक वर्ष करिब ५० हजार अष्ट्रेलियाली नागरिक नेपाल भ्रमणमा आउने जानकारी दिँदै ठूलो संख्यामा नेपालीहरू पनि अष्ट्रेलियाका विभिन्न सहरमा बसोबास र अध्ययनका लागि पुगिरहेको उल्लेख गरे।

उनले काठमाडौं महानगरपालिकाले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलसँग अष्ट्रेलिया सहकार्य गर्न इच्छुक रहेको जनाउँदै यस विषयमा आफू सकारात्मक रहेको धारणा व्यक्त गरे।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com