काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच शिक्षा क्षेत्रको सुधार, द्विपक्षीय सहकार्य र नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको छ।

बिहीबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा दुवै पक्षले दुई देशबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई शिक्षा, प्रविधि र मानव स्रोत विकासमार्फत अझ सशक्त बनाउने विषयमा विचार आदान–प्रदान गरेका हुन्।

भेटका क्रममा नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले सार्वजनिक शिक्षा सुधार सरकारको प्रमुख प्राथमिकतामध्ये एक रहेको उल्लेख गर्दै चुनौतीहरूलाई स्वीकार गरेर मात्रै प्रभावकारी परिवर्तन सम्भव हुने बताए।

उनले विद्यालय शिक्षामा सुधारका लागि सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको जानकारी दिँदै विद्यालयहरूको भौतिक पूर्वाधारको मूल्याङ्कन सुरु भइसकेको र त्यसकै आधारमा आगामी दिनमा आवश्यकता अनुसार बजेट विनियोजन गरिने बताए। साथै, विद्यालय पूर्वाधार, शैक्षिक सुविधा, शिक्षकको पेशागत क्षमता अभिवृद्धि र गुणस्तरीय शिक्षामा मन्त्रालय केन्द्रित रहेको स्पष्ट पारे।

मन्त्री पोखरेलले सुरक्षित विद्यालय पूर्वाधार, डिजिटल तथा स्मार्ट लर्निङ, विद्यालय स्वास्थ्य तथा पोषण, शिक्षक तालिम र प्राविधिक शिक्षालगायतका क्षेत्रमा जापानसँग सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको बताए। उनले जापानको अनुशासन, सांस्कृतिक मूल्य र विद्यालय शिक्षाको अभ्यासबाट नेपालले पनि धेरै कुरा सिक्न सक्ने उल्लेख गर्दै नेपाली विद्यालयमा संस्कार, मूल्य–मान्यता र सहकार्यको भावना विकास गर्ने कार्यक्रमलाई पनि प्राथमिकता दिइने बताए।

उनले शिक्षा क्षेत्रमा गरिएको लगानीको प्रतिफल देखिन समय लाग्ने भए पनि सुधारको प्रक्रिया तत्काल सुरु गर्नुपर्नेमा जोड दिँदै सम्भावित सबै क्षेत्रमा जापानसँग साझेदारी विस्तार गर्न सरकार तयार रहेको बताए।

जापानी राजदूत मायदा तोरुले नेपाल सरकारले सार्वजनिक शिक्षा सुधारका लागि थालेका प्रयासको प्रशंसा गर्दै जापान सरकारको सहयोग आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरे।

उनले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न दीर्घकालीन राजनीतिक प्रतिबद्धता, सक्षम प्रशासन, सुशासन र प्रभावकारी शिक्षा प्रणाली अपरिहार्य हुने उल्लेख गर्दै शिक्षकको पेशागत क्षमता विकासलाई विशेष प्राथमिकता दिनुपर्ने सुझाव दिए। शिक्षा विकास तथा समन्वय इकाइलगायत सम्बन्धित निकायलाई शिक्षक तालिम र क्षमता अभिवृद्धिमा प्रभावकारी रूपमा परिचालन गर्न उनले आग्रह गरे।

राजदूत तोरुले शिक्षा सुधारको प्रत्यक्ष लाभ आम नागरिकसम्म पुग्नुपर्नेमा जोड दिँदै नीतिगत स्थायित्व, प्रशासनिक सहजीकरण र पूर्वाधार विकासमा सुधार भए जापानी निजी क्षेत्रको नेपालप्रतिको आकर्षण अझ बढ्न सक्ने धारणा राखे।

उनले सूचना प्रविधि, डिजिटल पूर्वाधार, प्राविधिक जनशक्ति विकास, नवप्रवर्तन र लगानी प्रवर्द्धनका क्षेत्रमा पनि नेपाल र जापानबीच सहकार्य विस्तार गर्ने पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै भविष्यमा यी क्षेत्रमा साझेदारी अझ मजबुत बनाउन सकिने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com