काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार संविधानको मर्म र जनअपेक्षाअनुसार अघि बढ्न नसकेको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री शाहका पछिल्ला गतिविधि पनि शंकास्पद देखिएको टिप्पणी गरेका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै महरले सरकारले सुशासनको नारालाई व्यवहारमा उतार्न नसकेको मात्र होइन, त्यसलाई मजाकको विषय बनाएको दाबी गरे। उनका अनुसार वर्तमान सरकार सुरुदेखि नै प्रतिशोध, टकराव र शक्ति प्रदर्शनको राजनीतिमा केन्द्रित भएको छ।
‘हामीले संसद्भित्र पनि र बाहिर पनि पटक–पटक भनिरहेका छौँ, यो सरकार जनताको विश्वास र अपेक्षाको मत पाएर सत्तामा आएको हो। तर त्यसअनुसार काम गर्न सकेको छैन। जनमतको सम्मान गर्न र त्यसको रक्षा गर्न सरकार असफल भएको छ,’ उनले भने।
महरले सरकारलाई सही दिशामा अघि बढाउन सबै राजनीतिक शक्ति र नागरिक समाज एकजुट भएर खबरदारी गर्नुपर्ने आवश्यकता औंल्याए। सरकार सफल हुनुपर्ने आफूहरूको चाहना रहे पनि व्यवहारमा त्यसको विपरीत गतिविधि देखिएको उनको भनाइ थियो।
‘सरकार सफल होस्, जनताका आकांक्षा पूरा गरोस् भन्ने हाम्रो चाहना हो। तर सुरुदेखि नै प्रतिशोध साँध्ने, ड्याङडुङ गर्ने र ठोकठाकको शैलीमा सरकार अघि बढ्यो,’ उनले आरोप लगाए।
सरकारले आलोचनालाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार्नुको सट्टा आलोचकलाई नै शत्रुका रूपमा हेर्ने प्रवृत्ति अपनाएको आरोप पनि उनले लगाए।
महरले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनपछि पहिलो र दोस्रो ठूलो दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार गठन गर्नु राजनीतिक रूपमा उपयुक्त निर्णय नभएको स्वीकार गरे। उनका अनुसार सबैभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्ने र दोस्रो ठूलो दलले प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने संसदीय अभ्यास कमजोर हुँदा संसद्को शक्ति सन्तुलन प्रभावित भएको थियो।
‘पहिलो दलले सरकार र दोस्रो दलले प्रतिपक्षको भूमिका खेल्नुपर्थ्यो। तर कांग्रेस र एमाले मिलेर सरकार बनेपछि प्रतिपक्ष कमजोर भयो। त्यसले संसदीय अभ्यास नै सही ट्र्याकबाट बाहिरियो,’ उनले भने।
प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार













प्रतिक्रिया