बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा बिहीबार बिहान माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने सात जना यात्रु घाइते भएका छन्।

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ८९९० नम्बरको माइक्रोबस बिहान करिब १० बजे अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका माइक्रोबसका सहचालक बुटवल उपमहानगरपालिका–३ निवासी ३० वर्षीय सन्दीप बरालको उपचारका क्रममा भीम अस्पताल भैरहवामा मृत्यु भएको हो। उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

दुर्घटनामा सिद्धार्थनगर–८ की ५० वर्षीया कृष्णकुमारी बेलबासे, सोही स्थानकी ३४ वर्षीया श्रद्धा जोशी, कपिलवस्तुको शिवराज नगरपालिका–२ निवासी १९ वर्षीय प्रकाश गाहा, पाल्पाको रिब्दीकोट गाउँपालिका–६ का ३८ वर्षीय सुनिल थापा, सिद्धार्थनगर–३ का २६ वर्षीय कुलदीप गुप्ता, मर्चवारी गाउँपालिका–७ की ५५ वर्षीया शाहाबुन निसा तथा नवलपरासीको सुनवल नगरपालिका–६ निवासी ४१ वर्षीया हेमीसरा खाम्चा घाइते भएका छन्।

घाइतेमध्ये कृष्णकुमारी बेलबासेलाई थप उपचारका लागि भैरहवास्थित सिटी अस्पताल र हेमीसरा खाम्चालाई मणिग्रामस्थित क्रिमसन अस्पतालमा रिफर गरिएको छ। अन्य पाँच जनाको अवस्था सामान्य रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले जनाएको छ।

दुर्घटनापछि फरार भएका माइक्रोबस चालक तिलोत्तमा नगरपालिका–६ गणेशपुर निवासी ४६ वर्षीय छबिलाल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com