विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेसले नेकपा (एमाले) सँगको सत्ता साझेदारी अन्त्य गर्ने निर्णय गरेको छ। विराटनगरमा बुधबार बसेको कांग्रेस कोशी प्रदेश कार्यदलको बैठकले एमालेसँगको गठबन्धनलाई निरन्तरता नदिने औपचारिक निर्णय गरेको हो।

यद्यपि, प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूलाई तत्काल फिर्ता बोलाउने विषयमा भने अन्तिम निर्णय हुन सकेन। बैठकका क्रममा केन्द्रका शीर्ष नेताहरूबाट टेलिफोन सम्पर्क भएपछि मन्त्री फिर्तासम्बन्धी निर्णय स्थगित गरिएको जनाइएको छ। अब केन्द्रको स्पष्ट निर्देशन आएपछि मात्रै यसबारे औपचारिक निर्णय गरिने कांग्रेस स्रोतले जनाएको छ।

संघीय राजनीतिमा पछिल्लो समय देखिएको सत्ता समीकरणको परिवर्तन र प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलबीच बढेको मतभेदका कारण कोशीमा पनि गठबन्धन संकटमा परेको हो। यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि कांग्रेस–एमाले सहकार्य अन्त्य भइसकेको छ।

एमालेसँगको सहकार्य अन्त्य भएपछि कांग्रेसले आगामी राजनीतिक रणनीतिका लागि तीन विकल्प अघि सारेको छ। केन्द्रमा एमालेसँग पुनः सहकार्यको वातावरण बने त्यसलाई निरन्तरता दिने, सहकार्य सम्भव नभए नेकपा तथा अन्य दलसँग मिलेर नयाँ सरकार गठन गर्ने, र कुनै पनि विकल्प सम्भव नभए सशक्त प्रतिपक्षको भूमिकामा बस्ने रणनीति तय गरिएको छ।

केन्द्रमा कांग्रेसका सभापति गगन थापा र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच नयाँ राजनीतिक समीकरणबारे संवाद भइरहेका बेला कोशी प्रदेशमा पनि सत्ता समीकरण परिवर्तनको तयारी तीव्र बनेको छ।

हाल कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट एक राज्यमन्त्रीसहित पाँच जना मन्त्री सहभागी छन्। उनीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली तथा भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ रहेका छन्।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com