काठमाडौं । विश्व फुटबलका सर्वकालीन महान् खेलाडी लियोनेल मेस्सी र उदाउँदा स्टार लामिने यमाल पहिलो तथा सम्भवतः अन्तिम पटक एउटै मैदानमा आमनेसामने हुने भएका छन्। आगामी जुलाई १९ मा अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फाइनलले फुटबल इतिहासमा विशेष अध्याय थप्ने अपेक्षा गरिएको छ।
मेस्सी र यमाललाई जोड्ने सबैभन्दा ठूलो कडी बार्सिलोनाको प्रसिद्ध फुटबल एकेडेमी ‘ला मासिया’ हो। सन् २००७ मा बार्सिलोना फाउन्डेसन र युनिसेफको एक कार्यक्रमका क्रममा खिचिएको एउटा तस्बिरमा बालक रहेका यमाललाई मेस्सीले नुहाइदिएको दृश्य अहिले सामाजिक सञ्जालदेखि विश्व फुटबलसम्म चर्चाको विषय बनेको छ। समयसँगै त्यो तस्बिर महानायकबाट उत्तराधिकारीतर्फ विरासत हस्तान्तरणको प्रतीकका रूपमा हेरिन थालेको छ।
आठ पटकका बालोन डी’ओर विजेता मेस्सीले बार्सिलोनाबाट ७७८ खेल खेल्दै ६७२ गोल गरेका छन्। उनले क्लबका लागि चार च्याम्पियन्स लिग, १० ला लिगा र सात कोपा डेल रे उपाधि जितेका छन्। अर्जेन्टिनालाई विश्वकप जिताएपछि उनले राष्ट्रिय टोलीका लागि पनि ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।
यता, १९ वर्षीय लामिने यमालले छोटो समयमै बार्सिलोना र स्पेनको राष्ट्रिय टोलीमा आफ्नो प्रभाव स्थापित गरिसकेका छन्। उनले बार्सिलोनाबाट ला लिगा र कोपा डेल रे जितिसकेका छन् भने स्पेनलाई युरो कपको उपाधि दिलाउने टोलीका महत्वपूर्ण सदस्य बनेका थिए। यदि यसपटक पनि ठूलो अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भए उनी विश्व फुटबलका सबैभन्दा सफल युवा खेलाडीमध्ये एक बन्नेछन्।
यी दुईबीचको अर्को रोचक संयोग जर्सी नम्बरसँग पनि जोडिएको छ। मेस्सीले बार्सिलोना र अर्जेन्टिनाको सुरुआती दिनमा १९ नम्बरको जर्सी लगाएका थिए भने यमालले पनि सिनियर टोलीमा डेब्यु गर्दा यही नम्बर रोजेका थिए। हाल बार्सिलोनाले यमाललाई मेस्सीको ऐतिहासिक १० नम्बर जर्सी सुम्पिएको छ, जसलाई क्लबको नयाँ पुस्ताको नेतृत्वको प्रतीकका रूपमा हेरिएको छ।
एकातर्फ आफ्नो समृद्ध करियरको अन्तिम चरणमा रहेका मेस्सी छन् भने अर्कोतर्फ विश्व फुटबलको भविष्य मानिएका यमाल। यही कारण यो फाइनल केवल उपाधिको प्रतिस्पर्धा मात्र नभई फुटबल इतिहासका दुई पुस्ताबीचको दुर्लभ भेटका रूपमा समेत हेरिएको छ।
प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया