सुनसरी । मनसुन सक्रिय भएसँगै सप्तकोशी नदीमा जलप्रवाह उल्लेखनीय रूपमा बढेपछि सुनसरी जिल्ला प्रशासनले उच्च सतर्कता अपनाएको छ। नदीको बहाव जोखिमपूर्ण तहमा पुगेपछि कोशी ब्यारेजमा रातो बत्ती बालिएको छ भने २० वटा ढोका खोलिएको छ।
पछिल्लो मापनअनुसार सप्तकोशीमा प्रतिसेकेन्ड १ लाख ५१ हजार १९५ क्युसेक पानीको बहाव रहेको छ। जलप्रवाह १ लाख ५० हजार क्युसेक नाघेपछि सम्भावित बाढी जोखिमको संकेतस्वरूप रातो बत्ती बाल्ने प्रचलनअनुसार प्रशासनले सतर्कता बढाएको हो।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूले कोशी ब्यारेजको स्थलगत निरीक्षण गर्दै सम्भावित जोखिमको अवस्था मूल्याङ्कन गरेका छन्। प्रशासनका अनुसार बाढी, डुबान र कटानको जोखिमलाई ध्यानमा राख्दै जिल्लाको विपद् प्रतिकार्य योजना पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको छ।
प्रजिअ घिमिरेले उद्धार, राहत, सुरक्षित स्थानान्तरण र पुनःस्थापनाका लागि आवश्यक तयारी पूरा गरिएको जानकारी दिए। साथै, कमजोर तटबन्ध र कोशी ब्यारेज पुलको मर्मतसम्भार समयमै सम्पन्न गरिएको तथा कुनै स्थानमा क्षति पुगे तत्काल सम्बन्धित निकाय र सुरक्षा टोली परिचालन हुने व्यवस्था मिलाइएको उनले बताए।
जिल्ला प्रशासनले कोशी नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन, नदी किनारमा अनावश्यक आवतजावत नगर्न तथा आधिकारिक निकायबाट जारी हुने सूचनाको पालना गर्न आग्रह गरेको छ।
प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया