वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विदेशी विद्यार्थी, शैक्षिक आदानप्रदान कार्यक्रममा सहभागी हुने आगन्तुक तथा विदेशी सञ्चारकर्मीका लागि भिसा नियम थप कडा बनाउने निर्णय गरेको छ।
अमेरिकी गृह सुरक्षा मन्त्रालय (डीएचएस)ले जारी गरेको नयाँ नियमअनुसार अब एफ (विद्यार्थी), जे (आदानप्रदान कार्यक्रम) र आई (विदेशी सञ्चारकर्मी) भिसा निश्चित अवधिका लागि मात्र जारी गरिनेछ। यसअघि भने यी भिसा अध्ययन, कार्यक्रम वा रोजगारीको सम्पूर्ण अवधिसम्म मान्य रहने व्यवस्था थियो।
संघीय राजपत्रमा प्रकाशित भएको ६० दिनपछि लागू हुने नयाँ व्यवस्थाअनुसार विद्यार्थी तथा आदानप्रदान कार्यक्रममा सहभागीको भिसा अवधि अधिकतम चार वर्ष हुनेछ। विदेशी सञ्चारकर्मीका लागि भिसा अवधि २४० दिन तोकिएको छ भने चिनियाँ पत्रकारका लागि यो अवधि ९० दिन मात्र रहनेछ। आवश्यक परे भिसा नवीकरणका लागि आवेदन दिन सकिने व्यवस्था पनि राखिएको छ।
नयाँ नियमअनुसार स्नातकोत्तर तहका विद्यार्थीले सम्बन्धित निकायको पूर्वस्वीकृतिबिना अध्ययनको उद्देश्य परिवर्तन गर्न वा अर्को शैक्षिक संस्थामा स्थानान्तरण हुन पाउने छैनन्। साथै, अध्ययन वा तालिम पूरा गरेपछि अमेरिका छाड्न दिइने अवधि ६० दिनबाट घटाएर ३० दिनमा सीमित गरिएको छ।
डीएचएसका अनुसार सन् २०२४ मा १८ लाखभन्दा बढी विद्यार्थी भिसा जारी गरिएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले बढी हो। सोही अवधिमा पाँच लाखभन्दा बढी आदानप्रदान कार्यक्रमका सहभागी र ३७ हजारभन्दा बढी विदेशी सञ्चारकर्मीलाई पनि अमेरिकी भिसा प्रदान गरिएको थियो।
विदेशी भिसाधारकको संख्या तीव्र रूपमा बढ्दै जाँदा उनीहरूको निगरानी र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको भन्दै डीएचएसले नयाँ नियम आवश्यक भएको जनाएको छ। मन्त्रालयका अनुसार केही विद्यार्थी र आदानप्रदान कार्यक्रममा सहभागीहरू वर्षौंसम्म अमेरिकामै बसिरहेका उदाहरणसमेत भेटिएका छन्।
यद्यपि, नयाँ व्यवस्थाको आलोचना पनि भएको छ। पूर्व डीएचएस अधिकारी डग र्यान्डले यसले अनावश्यक प्रशासनिक झन्झट बढाएर अन्तर्राष्ट्रिय विद्यार्थीलाई निरुत्साहित गर्ने बताएका छन्। क्याटो इन्स्टिच्युटका आप्रवासन विशेषज्ञ डेभिड जे. बियरले पनि अध्ययनको उद्देश्य परिवर्तन तथा शैक्षिक संस्था परिवर्तनमा लगाइएका प्रतिबन्धको कानुनी आधार स्पष्ट नभएको टिप्पणी गरेका छन्।
प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया