बुटवल । कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाह र कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएपछि कपिलवस्तुको कृष्णनगर बजार पूर्ण रूपमा बन्द गरिएको छ।
पक्राउ पुर्जी जारी भएको घटनाको विरोध गर्दै स्थानीय व्यवसायी तथा सर्वसाधारणले बजार बन्द गराएका हुन्। विरोधस्वरूप कृष्णनगर क्षेत्रमा सार्वजनिक तथा निजी सवारीसाधनको आवागमनसमेत प्रभावित भएको छ।
स्थानीयको भनाइ उद्धृत गर्दै विरोधकर्ताले सामान्य विवादलाई राजनीतिक प्रतिशोधको विषय बनाउँदै सांसद र मेयरलाई योजनाबद्ध रूपमा फसाउने प्रयास गरिएको आरोप लगाएका छन्। उनीहरूले पक्राउ पुर्जी खारेज गर्न र घटनाबारे निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग मागसमेत गरेका छन्।
यसैबीच, सांसद शाह र मेयर शाहविरुद्ध ज्यान मार्ने उद्योगको आरोपमा जाहेरी दर्ता गराएका कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा कोहिनूर मार्बलका सञ्चालक रितेश शर्मा हाल सम्पर्कविहीन रहेको जनाइएको छ। प्रहरी स्रोतका अनुसार उनी फरार रहेको र खोजी कार्य जारी रहेको बताइएको छ।
प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया