काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला संग्रौलाले न्यायिक प्रक्रियामाथि प्रश्न उठाएकी छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले एउटै प्रकृतिका मुद्दामा फरक–फरक व्यवहार गरिएको भन्दै कानुनको समान कार्यान्वयन हुनुपर्ने धारणा व्यक्त गरेकी हुन्।
संग्रौलाले रास्वपा सभापति रवि लामिछानेलाई चार करोड रुपैयाँ बिगो मागदाबी गरिएको मुद्दामा सोही बराबरको धरौटी बुझाउँदा पनि १४ महिनासम्म जेलमा बस्नुपरेको उल्लेख गर्दै विष्णु पौडेलको हकमा भने फरक निर्णय आएकोप्रति असन्तुष्टि जनाइन्।
उनले लेखेकी छन्, ‘चार करोड रुपैयाँ बिगो मागदाबी भएको मुद्दामा रवि लामिछानेले बिगो बराबरकै धरौटी तिर्दा पनि १४ महिना जेल बस्नुपर्ने, तर २० करोड ७७ लाख रुपैयाँ बिगोसहित भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानमा तानिएका विष्णु पौडेल २२ दिन हिरासत बसेपछि साधारण तारेखमा रिहा हुने?’
संग्रौलाले अदालतले एउटै प्रकृतिका मुद्दामा कसैसँग बिगो बराबरको धरौटी माग्ने र कसैलाई साधारण तारेखमा छाड्ने निर्णयले समान न्यायको सिद्धान्तमाथि प्रश्न उठाएको टिप्पणी गरेकी छन्।
उनले न्याय प्रणालीप्रति जनविश्वास कायम राख्न कानुन सबै व्यक्तिका लागि समान रूपमा लागू हुनुपर्नेमा जोड दिएकी छन्।
प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार













प्रतिक्रिया