काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले पछिल्ला न्यायिक निर्णयहरूले न्याय प्रणालीमाथि गम्भीर प्रश्न उठाएको भन्दै न्यायालयको व्यापक समीक्षा र पुनर्संरचनाको आवश्यकता औंल्याएका छन्।
विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा साधारण तारेखमा रिहा गर्ने आदेश दिएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै न्यौपानेले अब न्यायालयबारे ‘निर्ममतापूर्वक समीक्षा’ गर्ने समय आएको बताएका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘न्यायालयको सन्दर्भमा निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको छ। यस कार्यमा जति ढिलाइ गरिन्छ, त्यति नै अकल्पनीय रूपमा ढिला भएको महसुस हुने अवस्था आउन सक्छ।’
न्यौपानेले पछिल्ला केही श्रृंखलाबद्ध घटनाक्रमले न्यायिक प्रणालीप्रतिको जनविश्वास कमजोर बनाएको दाबी गर्दै न्यायालयको पुनर्संरचना नगरी सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण सम्भव नहुने तर्क गरेका छन्।
उनका अनुसार, न्यायमा आम नागरिकको भरोसा कायम राख्न न्याय प्रणालीमा संरचनात्मक सुधार अपरिहार्य भइसकेको छ।
सांसद यज्ञमणि न्यौपानेले राज्यका सबै निकाय समयानुकूल परिवर्तनका लागि तयार हुनुपर्ने उल्लेख गर्दै परिवर्तनलाई आत्मसात् नगरी देशलाई रूपान्तरण गर्न नसकिने धारणा पनि व्यक्त गरेका छन्।
‘यो मेरो आवेगमा आएको निष्कर्ष होइन, गम्भीर समीक्षा र विश्लेषणपछि बनेको धारणा हो,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार













प्रतिक्रिया